इटहरीः संसदमा मर्यादित भाषाको प्रयोग अनिवार्य हो । संसदीय परम्परामा सदनमा बोल्ने सांसदहरूले व्यक्तिगत विषयमा आक्षेप लगाउनु हँुदैन । त्यसमाथि कसैलाई पनि व्यक्तिगत मर्यादामै आँच आउने अप्रमाणित आरोप लगाउनु संसदीय मर्यादाबाहिरको विषय हो ।
संसदीय मर्यादाभन्दा बाहिर गएर संसदमा प्रतिनिधित्व गर्ने अन्य सांसदहरूले पनि सभामुखमार्फत् ध्यानाकर्षण गराउन सक्दछन् । नभए नियमापत्ति गर्ने बाटो पनि खुला छ ।
तर प्रदेश १ को बुधबार बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले विशेष समय नै मागेर मुख्यमन्त्रीको बारेमा व्यक्तिगत र अप्रमाणित आरोप लगाउँदासमेत सत्तापक्षका कुनै पनि सांसदले प्रतिक्रिया जनाएनन् ।
बुधबारको सदन बैठकमा सञ्चारमाध्यममा आएको महिला हिंसासम्बन्धी अप्रमाणित विषयमा मुख्यमन्त्रीलाई जोडेर भएको सम्बोधनमा नेकपाका कुनै सांसदले पनि तत्काल कुनै प्रतिक्रिया जनाएनन् । न त सभामुखले व्यक्तिगत रूपमा उठाएको अप्रमाणित विषयलाई नै रेकर्डबाट हटाउन निर्देशन दिए ।
सो बैठकमा सचेतक कार्कीले मुख्यमन्त्री राईमाथि महिला हिंसासम्बन्धी आरोप लागेको भन्दै यसबारे प्रदेश सरकारको धारणासमेत मागेका थिए ।
‘हाम्रा अविवाहित मुख्यमन्त्रीलाई महिला हिंसाको आरोप लगाइयो । यो विषयमा आम जनताको शिर निहु¥याइयो, तर अहँ न कुनै स्पष्टीकरण आयो न त सरकारको कुनै आधिकारिक धारणा नै ।’
विपक्षी दलका प्रमुख सचेतकले बोलेको विषयलाई लिएर सदन सकिएपछिको अनौपचारिक चिया गफमा नेकपाका सांसदहरूले खण्डन गरेका थिए । तर, भोलिपल्ट अर्थात् बिहीबार बसेको संसद बैठकमा भने चुइँक्क कोही पनि बोलेनन् ।
महिला हिंसा मात्र होइन मुख्यमन्त्रीलाई प्रमुख सचेतक कार्कीले सङ्घीय सरकारसामु मुख्यमन्त्री निरीह बनेको समेत आरोप लगाएका थिए । तर, बिहीबारको बैठकमा सरकारका कुनै प्रतिनिधिले सो विषयमा खण्डन वा स्पष्टीकरण दिएनन् । न त सभामुखले नै सरकारलाई रुलिङ गरे ।
बुधबारको बैठकमा लगाइएको आरोपलाई बिहीबारको बैठकमा सत्तापक्षले खण्डन गर्ने र रेकर्डबाट हटाउने पहल गर्ला भन्ने अनुमान काङ्ग्रेसका सांसदहरूको समेत रहेको थियो । तर सत्तापक्षले सो विषयलाई रेकर्डबाट हटाउन अनुरोध गर्नु त परै जाओस् सो विषयमा कुनै शब्द पनि उच्चारण गरेन ।
‘कार्कीजीले अलि बढी नै बोल्नुभएको हो । व्यक्तिगत अप्रमाणित विषयमा उहाँले बोल्नु हँुदैन थियो’, नाम उल्लेख नगर्ने शर्तमा काङ्ग्रेसका एक सांसदले भने, ‘आज सदनमा अलि असहज स्थिति आउँछ भन्ने लागेको थियो । तर, सत्तापक्षका साथीहरूले कुनै वास्ता नै गर्नुभएन शायद पार्टी निर्णय नै पर्खिनुभएको हो कि ।’
मुख्यमन्त्रीलाई लगाएको आरोपको बेला मुख्यमन्त्री भने संसद बैठकमा उपस्थिति थिएनन् । मुख्यमन्त्री राईले भने आफ्नो चरित्र हत्या गर्न पार्टीभित्रैबाट षड्यन्त्र रचिने गरेको बताउँदै आएका छन् ।
मुख्यमन्त्री राईमाथि केही समयअघि नेकपाकै कार्यकर्ता रहेकी एक महिलाले आफू यौन हिंसाको शिकार भएको आरोप लगाएकी थिइन् । उनले यस्तो आरोप धेरै पहिलेदेखि नै लगाउँदै आए पनि अप्रमाणित रहँदै आएको छ ।