झापाः नेपाल बार एशोसिएशन झापाको अध्यक्षमा लेखनाथ निरौला चयन भएका छन् । आगामी २ वर्षे कार्यकालका लागि उनी चयन भएका हुन् । माघ २६ गते तय गरिएको निर्वाचन अगावै सहमति भएपछि निरौलाको अध्यक्षतामा समिति गठन गरिएको हो ।

झापाका प्रगतिशील कानुन व्यवसायी एशोसिएशन र प्रजातान्त्रिक कानुन व्यवसायी एशोसिएशनबीच भएको सहमतिबमोजिम चन्द्रगढीमा सम्पन्न भेलाबाट प्रगतिशील कानुन व्यवसायी एशोसिएशनबाट निरौलाको अध्यक्षतामा समिति गठन गरिएको हो ।

प्रजातान्त्रिक कानुन व्यवसायी एशोसिएशनले उपाध्यक्ष, सचिव, सहसचिव र ४ जना सदस्य पाएको छ । सहमतिअनुसार बारको उपाध्यक्षमा नारायणप्रसाद पौडेल, सचिवमा भीम बराल, सहसचिवमा शान्ता पाठक र कोषाध्यक्षमा अर्जुनकुमार बस्नेत निर्विरोध चयन भएको झापा बारले जनाएको छ ।

त्यसैगरी, सदस्यमा वसन्त नेपाल, देवीकुमारी निरौला, तिलकसिंह पाण्डे, शम्भुकुमार थापा, नरबहादुर लिङ्देन, पुण्यप्रसाद शिवाकोटी, लक्ष्मीप्रसाद अधिकारी र दीर्घसिंह पौडेल सर्वसम्मत चयन भएका छन् ।

२०२२ सालमा स्थापित झापा बारमा विगत १४ वर्षदेखि प्रगतिशील कानुन व्यवसायी एशोसिएशन र प्रजातान्त्रिक कानुन व्यवसायी एशोसिएशनबीच आलोपालो नेतृत्व लिने सहमति भएको छ ।