इलामः इलामको चुलाचुली गाउँपालिका–२ स्थित चाजु खोलामा निर्माण भएको पुल भत्किँदा स्थानीयवासीले सास्ती खेप्न बाध्य भएका छन् ।

विसं २०७३ वैशाखबाट निर्माण शुरु भएको पुल २०७४ जेठमा सम्पन्न भएको थियो । पुल निर्माण भएको तीन महिनामै भत्किएपछि जनताले समस्या भोग्न बाध्य भएको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले बताए । पक्की पुल निर्माणका लागि पहल गरिरहेको उनले बताए ।

चुलाचुलीमा सानाठूला करीब एक दर्जन खोला भए पनि चाजु खोला गाउँपालिकाको केन्द्र जाने बाटोमा पर्ने भएकाले त्यहाँ पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय बताउँछन् । गलत इस्टिमेटका कारण सो पुल भत्किएको स्थानीयको अनुमान छ ।
२ सय ४ मिटरको सो पुलको थोरै भाग मात्रै अहिले छ । बाँकी सबै बाढीले बगाएको छ । झोलुङ्गे पुल महाशाखा काठमाडौंको ७३ लाख बजेटमा सो पुल निर्माण भएको थियो ।

चुलाचुली गाउँपालिकाको वडा नं ३, ४, ५ र ६ का बासिन्दालाई गाउँपालिकाको कार्यालयसम्म पुग्नका लागि निर्माण भएको पुल भत्किएरपछि यसपालिको वर्षात्मा कसरी खोला पार गर्ने भन्ने चिन्ता स्थानीयवासीमा छ । वर्षौंको अथक प्रयासपछि निर्माण भएको पुल १ वर्षमै भत्किएपछि जनताको विकासको आशा सकिएको स्थानीयवासी बताउँछन् ।

पुल नहुँदा गाउँपालिकाको एकमात्र जनता मावि पढ्ने विद्यार्थी वर्षात्मा कसरी विद्यालय जाने भन्नेमा चिन्तामा रहेको स्थानीयको भनाइ छ ।