खोटाङः मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको च्यास्मिटारदेखि हलेसीसम्मको सडकको यात्रा जोखिमपूर्ण बनेको छ ।

जयराम–हलेसी ३० किलोमिटर सडकको च्यास्मिटार–दुर्छिम–हलेसी खण्डमा खाल्डा परेपछि यात्रा जोखिमपूर्ण बनेको हो ।

जयराम–हलेसी सडकको प्रहरी चौकी च्यास्मिटारदेखि बडहरे र दुर्छिमदेखि हलेसीसम्मको सडकमा कालोपत्रे उक्किएर खाल्डैखाल्डा बनेको छ । स्वच्छन्द–भगवती निर्माण सेवाले पहिलो पटक २०६७ सालमा गरेको कालोपत्रे छोटो समयमै उप्किएपछि हलेसी आउने जाने पर्यटक तथा दर्शनार्थीलाई समस्या भएको छ ।

ठेकेदारको लापर्वाहीका कारण कालोपत्रे चाँडै उप्किएपछि सवारी साधन हिँड्नै मुस्किल पर्नेगरी खाल्डाखुल्डी बनेको वडा नम्बर–३ च्यास्मिटारका वडाध्यक्ष भलाराज राईले बताए । सो सडक खण्डमा सवारी साधन चलाउने चालक छिनछिनमा भेटिने खाल्डाखुल्डी छल्दै सवारी साधन चलाउन बाध्य छन् ।

हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने जयराम–हलेसी सडक राजधानीलगायतका शहर जाने र आउने एकमात्र सडक हो । हाल सो सडकमा दैनिक हलेसी र दिक्तेल आउने÷जाने सयौँ सवारी साधनको ओहोरदोहोर हुने गर्छ ।

विशेषगरी ग्रामीण क्षेत्रका सडकमा धुलो नियन्त्रणका लागि लगाइने ओटासिल नै बाँकी नरहेपछि गाडीभित्रै धूलो छिर्ने गरेको यात्रुको गुनासो छ । २०७१ सालमा ठेक्का लगाएर जयरामदेखि च्यास्मिटारसम्म तथा बडहरे र दुर्छिमको केही भागमा मर्मत गरिए पनि बीचका अन्य खण्डमा ठूलाठूला खाल्डा रहेका छन् ।

जयराम–हलेसीका विभिन्न १३ खण्डमा गरी १६ हजार ३ सय मिटर खण्ड कालोपत्रे गर्ने ठेक्का लिएको रौता कन्ट्रक्सनले सम्झौताअनुसारको काम पूरा गरेर हिँडिसकेको छ । सोही सडकखण्डको चिसो र हिलाम्मे हुने १७ हजार मिटर खण्डमा सूर्य कन्ट्रक्सनले आरसिसी ढलान र स्ट्रक्चरको काम गरिरहेको छ ।

स्थानीयवासीका अनुसार दुर्छिमको छापडाँडा र हलेसीबीचमा पर्ने सडकमा सबैभन्दा बढी खाल्डाखुल्डी छन् । कतिपय घुम्तीमा समेत खाल्डाखुल्डी हुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कम्तीमा १० वर्ष टिक्नुपर्ने उक्त सडकखण्डको ओटासिल ३ वर्ष नपुग्दै उप्किन थालेको स्थानीयवासीले बताए । ठेकेदारले आफ्नो फाइदाका लागि गुणस्तरहीन काम गर्न थालेपछि स्थानीयले उसबेला नै सडक सङ्घर्ष समिति गठन गरेर खबरदारी गरे पनि गुणस्तरीय हुन सकेन ।

जयरामदेखि हलेसीसम्मको सडक पिच गर्ने क्रममा ठेकेदारले बस्ती नजिकबाहेकका विभिन्न खण्डमा कालोपत्रे नै नगरी छाडेको थियो । सडकका बाँकी खण्डमा पनि कालोपत्रेको काम पूरा गर्ने भन्दाभन्दै ठेकेदार भागेको स्थानीयले बताएका छन् ।

धार्मिक तथा पर्यटकीयस्थल हलेसी आवतजावत गर्ने एक मात्र सडक जोखिमपूर्ण बनेपछि तत्काल पुनः मर्मत गर्न सडक विभागलाई अनुरोध गरिएको नगर प्रमुख इवन राई बताउँछन् ।

जयराम–हलेसी सडकखण्डमा देखिएको जोखिम न्यूनीकरण गर्न नगरपालिकाको तर्फबाट पटकपटक मर्मत गरिएको छ । जयराम–हलेसी सडक नगरपालिकाको तर्फबाट गरिने मर्मतले मात्र सम्भव नहुने र उक्त सडक राष्ट्रिय गौरवको आयोजना भएकाले सडक विभागले हेर्नुपर्ने नगरप्रमुख राईको भनाइ छ ।