बेलबारीः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शिक्षा क्षेत्रमा सुधारको खाँचो रहेको औँल्याएका छन् । कानेपोखरी गाउँपालिकामा रहेको जनसेवा माविको स्वर्ण महोत्सवमा शैक्षिक क्षेत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । राईले शिक्षामा राजनीतिकरण भएको भन्दै त्यसको रोकथामका लागि शिक्षकलाई सम्मान तथा दण्ड गर्ने कार्यक्रम ल्याएको बताए ।
जीवनउपयोगी सीपमूलक शिक्षाको खाका प्रदेश सरकाले तयार पार्न थालेको उनको भनाइ थियो । अन्य प्रदेशको भन्दा तथ्याङ्कमा १ नम्बर प्रदेशको शैक्षिक अवस्था चित्त बुझदो भएको बताए । ७१ प्रतिशत जनसङ्ख्या साक्षर रहेको १ नम्बर प्रदेशमा ताप्लेजुङ र सङ्खुवासभामा साक्षरतादर कम भएको बताए । उनले प्रदेशका उत्कृष्ट १४ वटा सामुदायिक विद्यालयलाई सम्मान गर्नुका साथै इन्टरनेट सबै विद्यालयमा पु¥याएर पठनपाठनमा सहज बनाउने समेत बताए ।
मुख्यमन्त्री राईले प्रदेश सरकारको कामको मूल्याङ्कन २०७६ बैशाख ३ गतेपछि मात्रै जनताले गर्ने बताएका छन् । उनले अरु प्रदेशमा भन्दा नमूना काम भएको जनातले हेर्न पाउने आश्वासनसमेत दिए ।
‘सरकारमाथ टिप्पणीसमेत शुरु भएको छ,’ मुख्यमन्त्री राईले भने, ‘केही दिन पर्खनुहोस् तपाईहरू आफैँले थाहा पाउनुहुन्छ के हँुदैछ भनेर ।’ उनले आफ्नै कार्यकालमा सुकुम्बासी समस्या समाधान गर्नेसमेत बताए ।
यस्तै, प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले १ हजार ३ सय सामुदायिक विद्यालयका शिक्षकदेखि अभिभावकलाई कम्प्युटर शिक्षा दिने बताए । बिहान बेलुका शिक्षकलाई र दिउँसो अभिभावकलाई कम्प्युटर शिक्षा दिने कार्यक्रम ल्याएको मन्त्री घिमिरेले बताए । उनले प्रदेश नम्बर १ मा अबको १० वर्षभित्रमा किताब र झोलामुक्त विद्यार्थी बनाउनेसमेत घोषणा गरे ।
आमाहरूलाई छुट्टै शिक्षाको तयारी गरेको समेत मन्त्री घिमिरले बताए । उनले आमाहरूलाई बालबालिकालाई खुवाउने, सरसफाई राख्ने, लगायतका शिक्षा दिने कार्यक्रम ल्याएको बताए । विद्यालयको अनुगमन गरेर मीत लगाउने कार्यक्रम समेत ल्याएको उनले बताए । राम्रो विद्यालय र कमजोर विद्यालयको अनुगमन गरी मीत लगाउने उनले बताए ।
मौसमका कारण राष्ट्रपति अनुपस्थित
कानेपोखरी गाउँपालिकामा रहेको जनसेवा माविको स्वर्ण महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी नआएपछि प्रदेश नम्बर १ मुख्यमन्त्री शेरधन राईले स्मारक तथा भवनको पनि उद्घाटन गरे । मौसम खराब भएपछि राष्ट्रपति भण्डारी आउन नसकेको आयोजकले जनाएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रपति नआउने पक्का भएपछि राईलाई प्रमुख अतिथि बनाइए पनि उनलाई विशिष्ट अतिथिको ब्याच लगाउन दिइएको थियो । राष्ट्रपति हेर्न भनेर भेला भएका स्थानीयसमेत निराश हँुदै घर फर्किएका छन् ।
दिउँसो १२ बजे राष्ट्रपति भण्डारीसँगै कानुनमन्त्री भानुभक्त ढकाल तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी आउने कार्यक्रम रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, सदस्य प्रधानाध्यापकहरूलाई समेत सम्मान गरेको प्रधानाध्यापक अम्बिकाप्रसाद अर्यालले बताए ।