उर्लाबारीः प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्द तुम्बाहाङले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताएका छन् ।

मोरङको उर्लाबारी–६ मा रहेको राधिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै उनले शिक्षाको विकासमा सरकार योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताए । उनले स्थानीय तहमा शिक्षालाई माग र आवश्यकताबमोजिम प्राविधिक तथा व्यावसायिक बनाइनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद् घनश्याम खतिवडाले विगतका इतिहास पढाएर अहिलेको आधुनिक समयमा उपयुक्त नहुने उल्लेख गर्दै सरकारले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षालाई जोड दिएको बताए । कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले स्वर्ण महोत्सव स्मारक अनावरण गर्नुका साथैँ विद्यालयको स्मारिका समेत विमोचन गरेका थिए ।