सोलुखुम्बुः हावाहुरीका कारण सोलुखुम्बु जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ ।

हिजो दिउँसो आएको हावाहुरीले सोलुखुम्बुको पत्तालेस्थित नेपाल टेलिकमको एन्टेनामा असर पारेपछि फोन सेवा प्रभावित भएको नेपाल टेलिकम सल्लेरीका प्रमुख श्याम कठायतले बताए ।

हावाहुरीका कारण टेलिकमको ल्याण्डलाइन, नमस्ते, स्काईलगायत टेलिफोनमा टावर आउने र जाने समस्या भइरहेको छ । नेटवर्क देखाउने गरे पनि फोन सम्पर्क नहुने सेवाग्राही बताउँछन् ।

जिल्ला सदरमुकाम क्षेत्रको मुख्य टावर रहेको पत्तालेमा हिमपात तथा तीव्र गतिको हावाका कारण सम्पर्कविच्छेद भएको हो । मर्मतपश्चात् मात्र फोन सेवा सञ्चालन हुन सक्ने सल्लेरी प्रमुख कठायतको भनाइ छ ।