इटहरीः भारतको जम्मु काश्मिर हुँदै नेपालको पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुका कारण हिजो साँझदेखि पूर्वका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ ।
वर्षाका कारण मानिस घरबाट कमै मात्रामा बाहिर निस्किएका छन् । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार देशका केही स्थानमा भारी वर्षा तथा अधिकांश स्थानमा सामान्यदेखि हल्का वर्षा भएको छ । तुलनात्मक रुपमा पश्चिमी क्षेत्रमा बढी र पूर्वमा कम वर्षा भएको छ ।
२४ घण्टामा सबैभन्दा बढी भैरहवामा ५९ मिलिमिटर वर्षा भएको छ । सिमरामा ४७, पोखरामा ३५, दाङमा १६, वीरेन्द्रनगरमा १३, जुम्लामा ११ र डडेलधुरामा ६ मिलिमिटर वर्षा भएको छ । विराटनगरमा ५ र धनकुटामा ४ मिलिमिटर वर्षा भएको छ । वर्षापछि चिसो बढेको छ । विराटनगरको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस रहेको छ ।
पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर बन्दै गएकाले भोलि आइतबारदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ । अहिले पश्चिमका केही क्षेत्र र मध्यका तराई भेगमा मौसममा सुधार हुँदै आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशको पूर्वी र मध्य भेगमा सामान्य बदली रही पश्चिमी भेगमा आंशिक बदली रहने बताइएको छ । मध्य र पूर्वी भेगका अधिकांश स्थान तथा पश्चिमी भेगका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना र हिमाली क्षेत्रमा मध्यम किसिमको हिमपात हुने महाशाखाको अनुमान छ ।
भोलि आइतबार देशको पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने विभागको अनुमान छ । २८ गते सोमबारदेखि मौसम सफा हुने महाशाखाको अनुमान छ ।