सरोकारवाला भन्छन्, ‘इटहरीको डुबान मान्छेकै कारण हो’



इटहरी/ सोमबार दिउँसो इटहरी क्षेत्रमा पानी प¥यो र रोकियो । त्यसपछि इटहरीका गल्लीगल्लीमा डुबान शुरु भयो । अरु त अरु उपमहानगरको गेट नै पानी नै पानीले भरियो । इटहरी बजार क्षेत्र भएर बग्ने टेङ्ग्रा र खेती खोलाको पानी बजारमा पसेको थिएन । तर पनि, पानीले एकाएक इटहरी भरिभराउ भयो ।
तत्कालको पानीले बनाएको डुबानको दृश्यलाई इटहरीको बगैंचा टोल विकास संस्थाका अध्यक्ष सुनिल कार्कीले फेसबुकमा पोस्ट गरेर लेखे, ‘केवल आधा घन्टा पानी पर्दा मेरो इटहरी उपमहानगरको दृश्य छर्लङ्ग हुँदोरहेछ । तस्बिर आफँै बोल्छ ।’

itahari duban (5)
यसो भन्नुमा कार्कीले इटहरीका खोला र पैनीहरू मिचिएर पानी पहिलेजस्तो बग्न नपाएको अर्थ थियो । कार्की मात्रै होइन इटहरीको नागरिक समाजका अध्यक्ष कमलेश पौडेल पनि इटहरीमा झर्र पानी पर्दा डुबान शुरु भइहाल्नुमा प्राकृतिक भन्दा मानवीय कारण बढी जिम्मेवार भएको बताउँछन् । उनी भन्छन्, ‘इटहरीको डुबान हुनुमा धेरैजसो प्राकृतिक भन्दा मानवीय कारण नै मुख्य छ ।’ खोलाको जग्गा मिचेर खोला खुम्च्याउनु, पैनी पुर्नु वा मिच्नु अनि ढलको सफाइ राम्रोसँग नहुनु नै इटहरीको डुबानको मुख्य कारण रहेको पौडेलको तर्क छ । उनी भन्छन्, ‘इटहरीको डुबानमा मानवीय कारण नै मुख्य रहेको छ ।’
यता, इटहरीका वातावरणकर्मीहरूको समूह केआइसी भनिने किप इटहरी क्लिनका परिकल्पनाकार सन्दीप पौडेल पनि कमलेशको तर्कमा सहमत छन् । उनी भन्छन्, ‘हाम्रो शहरमा पानीको बाटो मान्छेले मिचेकाले डुबान भएको हो । पानी पर्नासाथ डुबान हुनुमा मान्छेहरूकै दोष छ ।’

itahari duban (7)
इटहरीका नेकपाका नेता सागर सुवेदी इटहरीमा भूमाफियाका कारण शहरको मुटु भएर बगेका खोला अनि पैनीको बाटो खोसिएकाले यस्तो भएको बताउँछन् । विभिन्न शक्ति केन्द्रको आडमा मौलाउने भू–माफियाकरणकै कारण इटहरीका सर्वसाधारणले एक छिनको झरीमा डुबानको समस्या भोग्नुपरेको हो ।
सुवेदी भन्छन्, ‘सामान्य पानीमा पनि इटहरी तत्काल डुबानमा पर्नुमा खोला र पैनीको जग्गा मिच्ने भू–माफिया अनि ढल तथा नालाको राम्रो निर्माण र सफाइ नगर्ने स्थानीय जनप्रतिनिधिको दोष छ ।’ मिचिएको खोला र पैनीलाई पुरानै अवस्थामा बग्न दिने र ढल तथा नालाहरू राम्रोसँग निर्माण गर्ने र सफाइ गर्ने हो भने इटहरीको डुबानको समस्या हल हुने सुवेदीको तर्क छ ।
अघिल्लो सालको साउन २७ गते आएको विनाशकारी बाढीले इटहरीमा ८ जनाको ज्यान गएको प्रसङ्ग सुनाउँदै केआइसी अभियन्ता पौडेल यो विषयमा धेरै सचेत हुनुपर्ने बताउँछन् ।
खोलाहरू सफा गर्ने र खोलाको बाटो खोल्ने केही राम्रो काम स्थानीय सरकारबाट भएजस्तै व्यवस्थित ढल बनाउने र खोला तथा पैनी अतिक्रमण गरेर बनेका संरचना हटाउनुपर्ने तर्क छ इटहरीका रैथाने तथा प्राज्ञ राम धामीको । धामी भन्छन्, ‘इटहरीको डुबानमा २०४६ सालपछि आएकाहरूको ठूलो भूमिका छ । डुबानको समस्या हल हुनुपर्छ । नत्र स–साना झुप्रा भएका रैथानेलाई थप समस्या हुन्छ ।’
‘इटहरीको बसोबासमा समस्या र प्रश्न उठाइने एकमात्रै सवाल भनेको डुबान हो र यो पनि केही सीमित मान्छेहरूकै कारणले भएको हो’, पौडेल भन्छन्, ‘यसको तत्काल समाधान गर्नलाई सम्बन्धित मान्छेहरू, सर्वसाधारण र स्थानीय सरकारले खोला र पैनीको बाटो क्लियर गर्न संयुक्त रूपमा काम गर्नुपर्छ ।’

itahari duban (6)