विराटनगरः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीय सरकार सङ्घीयताप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

प्रेस चौतारी मोरङ शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा उनले संविधान र सङ्घीयतालाई कार्यान्वयन गराउन सरकारले कानुन निर्माण गरिरहेको बताए ।

मन्त्री ढकालले मुलुकको ३ सय ३९ कानुनमध्ये १ सय ६५ निर्माण भइसकेको जानकारी दिँदै थप कानुन संशोधन र निर्माण प्रक्रियामा रहेको बताए ।

वाइडबडी जहाजका विषयमा उत्पन्न विवादको अध्ययनका लागि छानबिन समिति बनिसकेको उनको भनाइ थियो । मन्त्री ढकालले सत्य निरुपण मेलमिलाप आयोगका पदाधिकारीको म्याद समाप्त भए पनि आयोगको म्याद समाप्त नहुने जनाए ।

चौतारीका अध्यक्ष रामचन्द्र अधिकारीको सभापतित्वमा कार्यक्रम भएको थियो ।