बेलबारीः कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रतिपक्षी दललाई देखाउन मात्रै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको विरोध गरेको जनाएका छन् ।

मोरङको सलकपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १३ औँ साधारण सभालाई सम्बोधन गर्दै मन्त्री ढकालले यस्तो बताएका हुन् । ‘२ जना अध्यक्ष हुँदा पनि पार्टीभित्र विरोधको स्वर आएको छैन । जसले काङ्ग्रेसलाई ईष्र्या भएको छ’, ढकालले भने, ‘त्यसैले पार्टी अध्यक्षले प्रतिपक्षलाई सान्त्वना दिन सरकारको विरोध गरेका हुन् ।’

सरकारले ल्याएको ऐन कानुन संविधानको मर्मअनुसार नरहेको भन्दै प्रचण्डले सरकारको विरोध गरेका थिए ।

शान्ति सुरक्षा, बजेटलगायतमा विषय सरकार संविधानको भावनाअनुसार नचलेको उनको आरोप थियो । नेकपा अध्यक्ष प्रचण्डले माओवादीलाई सिध्याइहालियो भन्ने ठान्नु मूर्खतापूर्ण हुने बताएका थिए । शान्ति सम्झौताको मर्मविपरीत पुराना मुद्दालाई ब्युँताउन थालेको उनको आरोप थियो ।

पूर्वाञ्चल विश्वविद्यालयको कार्यालय गोठगाउँमै
अबको केही महिनामा पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमै आउने उनले बताए । शिक्षा मन्त्रीले काम अगाडि बढाइसकेको र निर्वाचनताका बोलिएका विषय पूरा गरेरै छाड्ने उनले बताए ।