पाँचथरः पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ लाई पछिल्ला १५ दिनमा २ वटा दुःख आइलागेका छन् । १५ दिन अगाडि वडाध्यक्ष अबिन्द्रप्रसाद चेम्जोङ मोटरसाइकल दुर्घटनामा परे ।
दुर्घटनामा उनको बायाँ हातको कुम भाँच्चियो । गाउँपालिकाबाट सदरमुकाम फिदिम जाँदै गर्दा नालिखर्कमा चेम्जोङ दुर्घटनामा परेका थिए । दुर्घटनामा परेर काठमाडौं उपचारमा गए वडाध्यक्ष चेम्जोङ । आजमात्रै वडाध्यक्ष चेम्जोङ भद्रपुर विमानस्थल हुँदै काठमाडौंबाट बिर्तामोड आएको वडा सदस्य दानबहादुर अधिकारीले बताए ।
वडाध्यक्ष तङ्ग्रिदै कर्मथलो फर्केको दिन आज गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको सोही वडामा मृत्यु भएको छ । वडाको घुर्बिसे पञ्चमीमा आयोजित जनप्रतिनिधिहरूलाई पछिल्ला कानुनको बारेमा जानकारी दिने तथा क्षमता अभिवृद्धि दिने कार्यक्रममा प्रमुख अतिथि रहेका नेम्वाङ उच्च रक्तचापको कारण लढडका थिए ।
भाषण सकेर आफूबसेको कुर्सीतिर जाँदै गर्दा दिउँसो साढे २ बजे कुर्सीअगाडि उनी लडेको प्रत्यक्षदर्शी वडा सदस्य चन्द्रकुमारी आङ्देम्बेले प्रदेश पोर्टललाई बताइन् । अध्ययनशील र अग्रज व्यक्ति गुमाउनुपरेको चेम्जोङले बताइन् । उनले भनिन्, ‘उहाँजस्तो पुरानो र सक्षम नेतृत्व गुमाउँदा गाउँपालिका परिवार दुःखी भएको छ ।’