उर्लाबारीः उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले मोफसलका पत्रकारको समस्याबारे जानकारी लिएकी छिन् ।

पत्रकारहरूको समस्या, विज्ञापन, मिडिया हाउस सञ्चालनमा देखापरेका कठिनाइलगायत विषयमा उनी उर्लाबारीमा आयोजित छलफलमा सहभागी भएकी हुन् ।

सञ्चारसम्बन्धी विधेयक संसदीय समितिमा छलफल भइरहेको जानकारी दिँदै उपसभामुख तुम्बाहाम्फेले पत्रकारको हितमै सो विधेयक आउनुपर्नेमा जोड दिइन् । छलफलमा पत्रकार दुर्गाप्रसाद भट्टराई, दुर्गा खतिवडा, केदार चौहान, सुमन घिमिरे, अर्जुन जम्नेली राई र घनश्याम भण्डारीले सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गर्नुपर्ने बताए ।

स्थानीय तहका मिडियामा विज्ञापनको पहुँच पुग्न नसकेको अवस्थामा पत्रकारले मिडिया हाउसलाई बलियो बनाउन सकेमात्र न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सहज हुने उपसभामुख तुम्बाहाम्फेले बताइन् । उर्लाबारीमा २ एफएम रेडियो, दुई दैनिक पत्रिका र तीन साप्ताहिक पत्रिका छन् ।