विराटनगरः प्रदेश १ का सभामुख प्रदीप भण्डारीले सङ्घीय कानुनको अभावमा प्रदेश संसद क्रियाशील हुन नसकेको बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समिति राष्ट्रिय सभाले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘तहगत राज्य संरचनाको विकासमा समन्वय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भण्डारीले जनताले सोचेजसरी प्रदेश संसद र सरकारले काम गर्न नसकेको बताएका हुन् । सङ्घीय संसदले केही कानुन नबनाइदिँदा प्रदेशले आवश्यक कानुन निर्माणमा समेत बिलम्ब गरिरहेको उनले बताए ।
भण्डारीलगत्तै बोलेका सङ्घीय सरकारका कानुन मन्त्री भानुभक्त ढकालले केही समयमै प्रदेशलाई आवश्यक कानुन निर्माण गरिने बताए । सङ्घीयता कार्यान्वयनको लागि समिति नै बनाएर कानुन निर्माणको लागि सरकारले तयारी थालेको उनको भनाइ थियो ।