उर्लाबारीः मोरङको उर्लाबारी–३ मङ्गलबारे निवासी मृगौलापीडित १३ वर्षीया बालिका रेश्मा शेर्मा लिम्बूको उपचारका लागि २ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

सुनसरीको धरान स्थायी घर भई हाल हङकङमा बस्दै आएकी मनु लिम्बूको नेतृत्वमा त्यहाँ रहेका नेपालीबाट सङ्कलन गरेर पठाएको रकम प्रदान गरिएको हो ।

उर्लाबारी–३ का वडा सदस्य भीष्म बुढाथोकीले बालिकाकी आमा सुकमायालाई रकम प्रदान गरिन् । ३ महिनादेखि मृगौला रोगबाट पीडित बालिकाको त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । स्थानीय सनसाइन अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत रेश्माको ४ महीनाअघि खुट्टा सुनिन थालेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परीक्षण गराउँदा दुवै मृगौला खराब भएको पत्ता लागेको थियो ।