नेपालको ग्रामीण क्षेत्रको आकस्मिक तथा प्राथमिक स्वास्थ्य सेवाप्रवाहलाई गुणस्तरीय बनाउन इमर्जेन्सी मेडिसिनको उपचार पद्धतिसम्बन्धी चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई सीपयुक्त बनाउन आवश्यक छ ।

सो सम्बन्धी ज्ञान अद्यावधि गर्ने उद्देश्यले गत वर्षको कात्तिकमा प्रदेश नं. १ को इटहरीमा हामीले इमर्जेन्सी मेडिसिनको तीन दिने पहिलो अन्तर्राष्ट्रिय सम्मलेन गरेका थियौँ । सो सम्मेलन काठमाडौं उपत्यका र मेडिकल विश्वविद्यालयभन्दा बाहिर मोफसलको सम्भवतः पहिलो सम्मेलन हुन सक्छ । यस पटक पनि सोही सम्मेलनको निरन्तरता स्वरूप दोस्रो सम्मेलन यही माघ २९ देखि ४ दिनसम्म इटहरीमा हँुदैछ ।

रेप्सिन भनेको के हो

रेप्सिनको पूरा रूप अङ्ग्रेजीमा रिमोट इमर्जेन्सी एण्ड प्राइमरी हेल्थ केयर सर्भिस इन नेपाल हो । सामान्य रूपमा यो नागरिक तहबाट समन्वय भएको एउटा शैक्षिक कार्यक्रम हो जसमा आकस्मिक चिकित्सा र प्राथमिक स्वास्थ्य सम्बन्धी ज्ञान र सीप प्रदान गरिन्छ ।

रेप्सिनको अवधारणा बेलायतका इमर्जेन्सी मेडिसिनका प्रोफेसर डा प्रकाश सुवेदीले तयार पारी इटहरीसँग समन्वय गरी सञ्चालनमा आएको हो । रेप्सिन कार्यक्रमअन्र्तगत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको सम्मेलनको आयोजना गर्नुको साथै सीपमूलक कार्याशाला गोष्ठी तथा तालीम प्रदान गरिन्छ ।

रेप्सिनमा प्राविधिक सहयोग

रेप्सिनमा बेलायतको इन्टरनेशनल सेन्टर फर इमर्जेन्सी मेडिसिन र इन्टरनेशनल एकाडेमी फर मेडिकल लिडरसिपमा रहेका नेपाली प्रोफेसर तथा चिकित्सकहरूको स्वेच्छिक सहयोग, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, इमर्जेन्सी विभागकोे प्राविधिक सहयोग रहेको छ । स्थानीय रूपमा इटहरी उपमहानगरपालिका, इटहरी अस्पताल, रेडक्रस सोसाइटी इटहरी र सङ्गीत साधना प्रतिष्ठान इटहरीसँगको संयुक्त सहकार्य रहेको छ । साथै इटहरीका निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूको पनि सहयोग रहेको छ ।

रेप्सिन इटहरी

रेप्सिन सम्मेलन गर्न, इमर्जेन्सी मेडिसिन सम्बन्धी गतिविधिहरू सञ्चालन गर्न र स्थानीय रूपमा समन्वय गर्न सङ्गीत साधना प्रतिष्ठान तथा नागरिक समाज इटहरीका महासचिव राजु केसीको संयोजकत्वमा बनेको ७ सदस्यीय रेप्सिन इटहरीले कार्य गरिरहेको छ । दोस्रो रेप्सिन सम्मेलन आयोजना भव्य रूपमा सम्पन्न गर्न आवश्यक पर्ने सल्लाह र निर्देशनको लागि स्थानीय इटहरी सरकारका प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम र इटहरी अस्पताल अध्यक्ष भुपेन्द्र बराल सल्लाहकार रहेका छन् ।

इमर्जेन्सी मेडिसिनको महत्व

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार प्रत्येक मिनेटमा ९ जना घाउचोट, दुर्घटना वा हिंसाको कारण मृत्यु हुने गर्दछ । हाम्रोजस्तो विकासोन्मुख मुलुक, तीव्र शहरीकरण र बढ्दो जनघनत्व रहेको इटहरीजस्तो क्षेत्रमा स्वास्थ्यकर्मीहरूलाई इमर्जेन्सी मेडिसिन र प्राथमिक स्वास्थ्यसम्बन्धी ज्ञान र सीप दिने वा अद्यावधिक गर्न आवश्यक छ ।

परिणामस्वरूप, घाइतेको ज्यान बचाउन सम्भव हुने छ । चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई मात्र इमर्जेन्सी र प्राथमिक उपचार सम्बन्धी ज्ञानको आवश्यकता भएर पुग्दैन । यो त प्रत्येक घरदेखि सडक अनि कार्यालयसम्म प्रत्येक सदस्यले आधारभूत प्राथमिक उपचारबारे सीप भएमा मानिसको जीवन बाँच्न सक्छ ।

घरमा भ¥याङबाट परिवारको कोही सदस्य लडेमा कसरी उठाएर खाटमा राख्ने, सडक दुर्घटनामा खुट्टा भाँचिएको घाइतेलाई कसरी सहयोग गर्ने, एम्बुलेनस चालकले कसरी बिरामी वा घाइतेको प्राथमिक उपचार गर्ने र कार्यालयमा कोही पनि कर्मचारीले एक्कासी छाती कस्सिएर दुखेमा कसरी सहयोग गर्ने भन्नेबारे सबैमा जानकारी हुन आवश्यक छ ।

यहाँ के भन्न खोजिएको हो भने कुनै पनि कारणले इमर्जेन्सी अवस्था आएमा अस्पतालसम्म पुग्नपूर्व अपनाउनुपर्ने सावधानी र सो सम्बन्धी ज्ञान सीपको बारे आम मानिसलाई पनि जानकारी हुन आवश्यक छ । साथै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई इमर्जेन्सी मेडिसिनबारे ज्ञान सीपको निरन्तर अद्यावधि हुन आवश्यक छ ।


१ वर्षे रेप्सिन तालिम सञ्चालन

रेप्सिन इटहरीले पहिलो सम्मेलनमा सहभागी भएका १ सय ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमध्ये ३० जना स्वास्थ्यकर्मीहरूलाई छनोट गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमर्जेन्सी विभागमा इमर्जेन्सी मेडिसिनसम्बन्धी १ वर्षे रेप्सिन कोर्ष तालिमको रूपमा निःशुल्क सञ्चालन ग¥यो । खासगरी इटहरी क्षेत्र र प्रदेश नं १ का अधिकांश दुर्गम हिमाली, पहाडी र तराई जिल्लाका सरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई आकस्मिक उपचार पद्धतिबारे बेलायतवाट तयार गरिएको रेप्सिन कोर्ष मोड्युल अध्यापन गराइयो ।

उनीहरूमार्फत् दुर्गमका जनसमुदाय र सुगम इलाकामा हुने सडक दुर्घटनाका घाइतेहरूको ज्यान बचाउने अपेक्षा गरिएको छ । यस पटक पनि दोस्रो सम्मेलनमा सहभागी भएका स्वास्थ्यकर्मीहरू खासगरी हेल्थ असिष्टेण्टहरू मध्ये ३० जनालाई निःशुल्क १ वर्षे तालीम प्रदान गरिने छ ।

इमर्जेन्सी मेडिसिनको हेल्थ एडुकेटर

रेप्सिन सम्मेलनकै उपलब्धीस्वरूप इमर्जेन्सी र प्राथमिक उपचारको महत्वलाई ध्यानमा राखी इटहरीमा १ जना स्वयम्सेवक हेल्थ एजुकेटर छनोट गरी इटहरी उपमहानगर क्षेत्रमा इमर्जेन्सी मेडिसिन र प्राथमिक स्वास्थ्य सम्बन्धी शैक्षिक तथा सचेतनात्मक गतिविधि सञ्चालन गरिएको छ ।

इटहरी अस्पताल मातहतमा रहेर इटहरी क्षेत्रमा हुन सक्ने सडक दुर्घटनालगायत कुनै पनि इमर्जेन्सी स्वास्थ्य समस्याको प्राथमिक उपचार गर्न मोबाइल इमर्जेन्सी सेवा सञ्चालनको तयारी छ ।

रेप्सिन दोस्रो सम्मेलन
यही मिति २०७५ माघ २९ देखि ४ दिन सम्मेलन इटहरीमा गत वर्ष झै दोस्रो रेप्सिन सम्मेलन इटहरीमा आयोजना हँुदैछ । उक्त सम्मेलनमा नेपालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै बेलायत, भारत, श्रीलंकाका प्रोफेसर तथा डाक्टरहरूबाट इमर्जेन्सी सम्बन्धी कार्यपत्रका साथै सीपमूलक कार्याशाला गोष्ठी तथा तालीम प्रदान गरिने भएको छ ।

सम्मेलनमा ८० देखि १ सय जना सरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरू र ५० जना डाक्टरहरूलाई सहभागी गराई सीपमूलक रेप्सिन तालिम दिइने छ । सो सम्मेलनको अवसरमा ४० जना डाक्टर र १० जना स्नातक तह अध्ययन गरेका नर्सहरूलाई सहभागी गराई विराटनगरमा इमर्जेन्सी मेडिसिनको अवधारणा सम्बन्धी कार्यशाला गोष्ठी सञ्चालन गरिने छ ।
सहभागीहरूमध्ये ३० जना स्वास्थ्यकर्मीहरूलाई १ वर्षे रेप्सिन तालीम निःशुल्क प्रदान गरिने छ । साथै, यो सम्मेलनको अवसरमा इटहरीका विद्यार्थीहरू र प्रहरीहरूलाई पनि इमर्जेन्सी मेडिसिनको तालीम दिइने छ ।

अन्त्यमा,
रेप्सिन सम्मेलन र सो सम्बन्धी गतिविधिहरू सञ्चालन विशुद्ध नागरिक स्तरबाट निःशुल्क रूपमा सञ्चालन भइरहेको हुनाले अब इमर्जेन्सी मेडिसिनलाई सुदृढ गर्न स्थानीय र प्रदेश सरकारले कार्ययोजनामा राख्न पहल गरिने छ ।
हालसम्म जे जति गतिविधिहरू सञ्चालन भएका छन् ती सबै स्वेच्छिक रूपमा स्वंयसेवाको रूपमा काम भएका छन् । साथै बेलायतका चिकित्सकहरू प्रा.डा. प्रकाश सुवेदी, डा. नुसादखान, डा. प्रकाश रिजाल, डा. दिलीप यादव, सिए शैलेश ओझा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राडा रविन भण्डारी, डा आलोककुमार, डा रोजी वखाड्यो, विराट मेडिकल कलेजका डा. सूर्य पराजुली सहित रेप्सिन इटहरी टिम सहभागी हुनेछ ।
(सचिव, रेप्सिन इटहरी)