इटहरीः भारतीयलाई वंशजको आधारमा नागरिकता सिफारिश दिएको भन्दै प्रहरीको फरार सूचीमा रहेकै अवस्थामा हरिनगरा–३ का वडाध्यक्ष अरबिन्द मेहता नेकपामा प्रवेश गरेका छन् ।

नेकपाका प्रदेश नम्बर १ का इन्चार्ज भीम आचार्यको हातबाट टीका लगाएर आइतबार बिहान उनीलगायत अन्य ३ जना पार्टी प्रवेश गरेका हुन् ।
भारतीयलाई नेपाली नागरिकता बनाउन सिफारिश दिएको विषयमा प्रहरीले अरबिन्दलाई खोजिरहेकै बेला नेकपा नेता भीम आचार्यले भने आफ्नै घरमा गोप्य कार्यक्रम गर्दै पार्टी प्रवेश गराएका हुन् । ‘अरबिन्दजीलगायत अरु साथीहरू पनि पार्टी प्रवेश गर्नुभएको छ’, नेकपा सुनसरीका नेता रामप्रसाद मेहताले भने, ‘अहिले नाम गोप्य राख्ने भनिएको छ तर केही दिनमा कार्यक्रम गरेरै सार्वजनिक गर्ने हो ।’ अरबिन्द संघीय समाजवादी फाेरमबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

यता, नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका भीम आचार्य भने फरार अभियुक्तलाई पार्टी प्रवेश गराएको स्वीकार्दैनन् । ‘हामीले फरार अपराधीलाई पार्टी प्रवेश गराएका छैनौँ’, आचार्यले भने, ‘नेपाली काङ्ग्रेसका केही कार्यकर्ता सरकारको राम्रो कामको कारण नेकपामा प्रवेश गर्न चाहेकाले प्रवेश भने गराएका हौँ ।’

Mid page add from magh 25

 

याे राजनीतिक चरित्र भएनः फाेरम नेता अधिकारी

स्थानीय चुनावमा संघीय समाजवादी फाेरमका तर्फबाट वडाअध्यक्ष जीतेका अरबिन्द्र गुहार माग्न पाटि अध्यक्ष उपेन्द्र यादव सम्म पुगेकाे केन्द्रीय सदस्य पदम अधिकारीले पुस्टी गरे। 'अाफुमार्फत कुरा अाएकाले यस्ताे काम गलत भएकाे र केहि गर्न नसक्ने भन्दै टारेकाे थिएँ, पुनः अध्यक्ष सम्म नै पुगेछन्' उनले भने 'अध्यक्ष ज्यूले पनि विदेशीलाइ नागरकिता दिने कुरामा सहयाेग गर्न नसक्ने, बरू कानुबमाेजिम के हुन्छ त्यहि गर्नु भन्दै जवाफ फर्काइदिनु भएछ ।'

उनले जिम्मेवार पाटिका जिम्मेवार नेताबाटै गलक कार्य गैर्नेलार्इ संरक्षण दिएकाे कुराले साे पाटि भित्रकाे खराब चरित्र उदांगाे भएकाे बताए । भने 'राजनीतिक दलले खराब चरित बाेकेर हिँडेकालाइ कदापी संरक्षण गर्नु हुन्न ।'

यस्तो थियो नागरिकता प्रकरण

प्रहरीले स्थानीयसँग बुझेर गरेको सर्जिमिन र वडाध्यक्षले नै दिएको प्रमाणित सिफारिशमा भारतीय नागरिक गुरुदयाल साहले नेपाली वंशजको नागरिकता पाएका थिए । बसाइँसराइँको प्रमाणबिना नै वडाध्यक्षले आफ्नो ठाउँको मान्छे हो भन्दै वंशजको आधारमा नागरिकता दिन इलाका प्रशासन कार्यालय हरिनगरालाई सिफारिश दिएको पाइएको थियो ।

पहिले नै नेपाली नागरिकता पाइसकेका भारतीय नागरिकलाई बाबु बनाएर सन्तोष अर्थात् गुरुदयाल साहले वंशजको नेपाली नागरिकता लिएका थिए । भारतीय मतदातापत्र भए पनि वंशजका आधारमा नागरिकता पाएका भारतीय नागरिकलाई नक्कली बाबु बनाएर सन्तोषले नेपाली वंशजको नागरिकता पाएका थिए ।

भारतीय नागरिक सन्तोषकुमार साहले गुरुदयाल साहको नाममा नेपाली नागरिकता लिएको प्रकरणमा जिल्ला अदालत सुनसरीले साहलाई थप अनुसन्धानको लागि थुनछेक आदेश गरेको थियो । जिल्ला अदालत सुनसरीका न्यायाधीश शङ्करप्रसाद राईको इजलासले थुनछेक आदेश गरी थप अनुसन्धानको लागि कारागार पठाउने निर्णय गरेको थियो ।

अभियुक्तलाई पार्टी प्रवेश गराउनु नैतिक रूपमा गलत कार्यः सुवास नेम्वाङ

नागरिकता जस्तो गम्भीर फौजदारी मुद्दाका फरार अभियुक्तलाई पार्टी प्रवेश गराउनु नैतिक रूपमा गलत भएको नेकपा नेता सुवास नेम्वाङले बताए । नेम्वाङले भने, ‘कुन के विषय हो त्यो त म जान्दिनँ तर त्यस्ता अभियुक्तलाई कसैले पार्टी प्रवेश गराउँदैनन् ।’