भोजपुरः भोजपुर क्याम्पसमा फ्रि वाइफाइ जोनको उद्घाटन गरिएको छ । क्याम्पस प्रशासन तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा इन्टरनेट जडान गरी क्याम्पसलाई फ्रि वाइफाइ जोन घोषणा गरिएको हो ।

आइतबार सरस्वती पूजाको अवसर पारेर जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले फ्रि वाइफाइ जोन उद्घाटन गरेका हुन् । क्याम्पसमा स्ववियुको सक्रियतामा भोजपुरे हातेमालो समाज बहराइन, नेपाल बैंक लिमिटेड र क्याम्पस प्रशासनको सहयोगमा इन्टरनेट सेवा विस्तार गरिएको हो ।

क्याम्पसमा इन्टरनेट सेवा जडान गरिएपछि अध्ययन अध्यापनसँगै प्रशासनिक गतिविधि सञ्चालन गर्न सहज भएको भोजपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख उत्तमसिं राईले बताए ।