ताप्लेजुङः सञ्चारकर्मीहरूको अगुवाइमा सञ्चालित मानवताका लागि करुणा अभियानले ताप्लेजुङको एक विद्यालयमा पुस्तकालय स्थापना गरिदिएको छ । सो अभियानमार्फत् फुङलिङ नगरपालिकास्थित मेवाराजा आधारभूत विद्यालयमा २ हजार पुस्तकसहितको पुस्तकालय स्थापना भएको हो ।

सो पुस्तकालय सरस्वती पूजाको अवसर पारेर उद्घाटन गरिएको अभियन्ता भुवन केसीले बताए ।

विद्यार्थीहरूमा बाहिरी ज्ञान तथा सीपको समेत विकास होस् भन्ने उद्धेश्यले पुस्तकालय स्थापना गरिएको अर्का अभियन्ता पर्वत घिमिरेले बताए । यसैबीच, सो विद्यालयमा स्थापित छात्रवृत्ति अक्षयकोषलाई समेत सो अभियानले ८५ हजार १ रुपैयाँ प्रदान गरेको छ । सो अभियानले यसअघि मुलुकका विभिन्न ठाउँमा विपतमा परेकालाई सहयोग गरेको बताइएको छ ।

पुस्तकालय उद्घाटनका क्रममा स्वर्गीय सिंहबहादुर खवासको स्मृतिमा श्रीमती रेवता खवास र छोराहरूले १ लाख ५ सय ५ रुपैयाँ अक्षयकोषलाई प्रदान गरेका थिए ।

sahayog