झापाः वार्षिक रूपमा करोडौ रुपैयाँभन्दा बढीको नेपालमा उत्पादन भएको बन्दाकोपी भारत निर्यात हुने गरेको छ ।

नेपालको पूर्वी पहाडी जिल्ला धनकुटा र तेह्रथुमका विभिन्न ठाउँमा उत्पादन भएको बन्दाकोपी पूर्वी नाका भएर भारततर्फ निर्यात हुने गरेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

नेपालको पूर्वी पहाडी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुने बन्दाकोपीको माग भारतीय बजारमा प्रश्स्त छ । कार्यालयका प्राविधिक विनयकुमार साहका अनुसार गत आर्थिक वर्ष २०७४÷०७५ मा पूर्वी नाका भएर ५ करोड ८६ लाख ४८ हजार रुपैयाँ मूल्य बराबरको ७ हजार ३ सय ३१ मेट्रिक टन बन्दाकोपी भारत निर्यात भएको थियो । जुन सङ्ख्या अघिल्लो आर्थिक वर्ष २०७३÷०७४ को तुलनामा ९० लाख रुपैयाँले बढी हो । उक्त वर्ष ४ करोड ९६ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको ६ हजार २ सय ५ मेट्रिक टन बन्दाकोपी भारत निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५ करोड १९ लाख १० हजार रुपैयाँ मूल्य बराबरको ५ हजार १ सय ९१ मेट्रिक टन बन्दाकोपी भारत निर्यात भएको साहले जनाए । साउनदेखि मंसिर महिनालाई व्यवसायीहरूले बन्दाकोपीको सिजनका रूपमा लिने गरेका छन् । भारतको सिलिगुडी जलपाइगुडीका साथै विहारका विभिन्न स्थानमा समेत नेपाली बन्दाकोपीको माग निकै हुने गरेको छ ।

माग बढेसँगै निर्यातमा समेत वृद्धि हुने गरेको व्यवासयीको भनाइ छ । पूर्वी पहाडी जिल्ला धनकुटाको सिँधुवा तथा तेह्रथुमका विभिन्न स्थानमा उत्पादन भएका बन्दाकोपीको माग भारतीय बजारमा प्रशस्त हुने गरेको छ ।

बन्दाकोपीको माग भारतीय बजारमा प्रशस्त हुने भए पनि भारतीय व्यापारीले उचित मूल्य नदिने भएकाले नेपाली किसानले मार खेप्नु परेको व्यवसायीको भनाइ छ ।

यसैका कारण कहिलेकाहीँ नेपाली किसानले काँकरभिट्टा नाका भएर हुने बन्दाकोपीको निर्यात ठप्प पार्ने गरेका छन् । बन्दाकोपीको सिजन शुरु भए पनि किसानले उचित मूल्य नपाउँदा समस्या आउने गरेको धनकुटाका किसान रामबहादुर खत्रीको भनाइ छ । सिजन शुरु भए सँगै दैनिक ठूलो परिमाणमा बन्दाकोपी निर्यात हुने गरेको भए पनि यस्तो समस्या पैदा हुँदा सिजनको शुरुवातीमै निर्यात ठप्प झै हुने गर्दछ ।

किसानले उचित मूल्य पाउँदा सिजनमा दैनिक ८ देखि १५ ट्रकसम्म पनि बन्दा निर्यात हुने गरेको उनको भनाइ छ । विगतका सिजनमा भारतीय १२ देखि १५ रुपैयाँ प्रतिकेजी बिक्री हुने गरेको बन्दाकोपी कहिलेकाहीँ तल झरेर ६ देखि ७ रुपैयाँ प्रतिकेजीमा समेत बिक्री नहुने अवस्था आउने व्यवसायी बताउँछन् । लगानीअनुसार फल नपाउदा नेपाली व्यवसायीले बन्दाको निर्यात ठप्प पार्ने गर्दछन् ।