इटहरीः आफूले खेलेको पहिलो चलचित्र सयकडा दसको प्रचारको लागि अहिले कलाकार मनोज गजुरेल देश दौडाहामा छन् । हालसालै उनी पूर्वका विभिन्न शहरहरूमा प्रचार सकेर इटहरी आएका थिए । माघ १८ गतेबाट रिलिज भएको चलचित्र प्रचारको काम सकेर २२ गते इटहरीमा आएका थिए गजुरेल । इटहरी हुँदै गोलबजारमा चलचित्रको प्रचारमा हिँडेका गजुरेलले प्रदेश पाेर्टलसँग संक्षिप्त कुराकानी गरे ।

रामशरण पाठकको लेखन तथा निर्देशन र दर्शन क्रिएसनको ब्यानरमा बनेको चलचित्रमा गजुरेलसहित राजाराम पौडेल, अमृत ढुङ्गाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने आदिको अभिनय रहेको छ । गजुरेल र पौडेलबाहेक अधिकांश कलाकार नयाँ राखेर बनेको यो चलचित्रले भ्रष्टाचार र प्रेमको कुरा गरेको गजुरेल बताउँछन् । चलचित्रका थप प्रसङ्गमा गजुरेलको भनाइको सारांशः

Mid page add from magh 25

साबिकको बुर्जुवा ठान्ने सोचाइमा ‘चेन्ज’ ल्याएर खेलिएको चलचित्र
पहिलेपहिले विद्यार्थी राजनीति गर्दा आफूले चलचित्रलाई बुर्जुवाहरूको माध्यम भनेर आफू त्यता नगएको गजुरेलले बताए । प्रगतिशीलहरूले चलचित्र खेल्ने होइन भन्ने लाग्ने गरेको गजुरेलले बताए । र, यही कारण आफू चलचित्रमा नगएर रङ्गमञ्चमा लागेको उनी बताउँछन् । स्टेन्डअप कमेडी गरेको २५ वर्षपछि आफूले चलचित्र खेल्नुमा चलचित्र बुर्जुवाको क्षेत्र भएको होइन भन्ने बिचार आएको र राम्रो कथा भेट्नु मुख्य कारण भएको उनले बताए ।
‘राम्रा खाले चलचित्र पनि हुँदा रहेछन्, उनले भने, ‘यहाँबाट पनि राम्रो सन्देश दिन सकिने रै’छ भन्ने बुझेपछि म चलचित्र क्षेत्रमा आएँ ।’ हास्यव्यङ्ग्यमार्फत् सदाचारी समाज निर्माण गर्न लागेको एक हास्यव्यङ्ग्य कलाकारको भूमिकामा आफू भएको गजुरेलले बताए ।

‘फिल्म विथ पर्पोज’
अधिकांश चलचित्रहरू मनोरञ्जनको लागि बन्ने तर यो चलचित्रले भने महत्वपूर्ण सन्देश बोकेको गजुरेल बताउँछन् । नेपालको कर्मचारीतन्त्रमा भएको व्यापक भ्रष्टाचारका कुरा जोडेर बनाएको यो चलचित्र ‘फिल्म विथ पर्पोज’ अर्थात् सुन्दर उद्देश्य बोकेको चलचित्र भएको गजुरेल बताउँछन् । उनी भन्छन्, ‘राम्रो चलचित्र बनेको छ । यो हिट नहोला तर लोकप्रिय भने अवश्य हुनेछ ।’

प्रेम खोजे प्रेम र सामाजिक मुद्दा खोजे मुद्दा भेटिने चलचित्र
गजुरेलले सयकडा दसमा प्रेम खोज्ने युवाले प्रेम र सामाजिक मुद्दा उठान भएको हेर्न चाहनेले मुद्दा पनि भेट्ने बताए । सबैखाले दर्शक र सबै उमेर समूहका मान्छेले पारिवारिक रूपमा हेर्न मिल्ने चलचित्र सयकडा दस भएको गजुरेलले जिकिर गरे । उनले भने, ‘अहिले कतिपय चलचित्र परिवारसँग बसेर हेर्न नमिल्ने हुन्छन् । यो चलचित्र त्यस्तो छैन । सबैले सँगै बसेर हेर्न मिल्छ ।’

नेपालीभाषी भएको थाइल्यान्ड, बर्मा लगायतका देशमा पनि चलचित्र देखाइने
चलचित्र सयकडा दसलाई नेपाली सिनेघरहरूमा मात्रै होइन विदेशमा पनि प्रदर्शन गरिने गजुरेलले बताए । थाइल्यान्ड र बर्मामा पनि चलचित्र प्रदर्शन गरिने गजुरेलले बताए । उनले भने, ‘सन् २०१९ भित्रै यीलगायतका अन्य देशमा रहेका नेपालीभाषी समुदायलाई यो चलचित्र देखाइनेछ ।’ चलचित्रको थाइल्यान्डका ३ शहरमा प्रिमियर भइसकेको गजुरेलले बताए । बर्मेली मूलकी नायिका कलाकारको रूपमा भएकाले चाँडै बर्मामा पनि चलचित्र देखाइने गजुरेलले बताए ।

राम्रो सन्देश बोकेको चलचित्र बनाउनेलाई हौसला दिन सयकडा दस हेर्नैपर्छ
गत महिना ओस्कार अवार्डको अफिसियल च्यानल एबीसीको लागि विश्वका उत्कृष्ट २० हास्यव्यङ्ग्य कलाकारको सूचीमा मनोनयनमा समेत परेका मनोज गजुरेलले सयकडा दस चलचित्र सबैले हेर्नुपर्ने बताए । बजारमा सबै चलचित्र बिक्ने ग्यारेन्टी नभए पनि यो चलचित्र राम्रो भएको उनले बताए । उनले भने, ‘यो दोकान मात्रै नभएकाले राम्रो चलचित्र छ ।’

नेपाली चलचित्र उद्योगमा राम्रो सन्देश बोकेका निर्मातालाई हौसला दिनलाई यो चलचित्र हेर्नुपर्ने गजुरेलले बताए । सयकडा दस चलचित्र मात्रै नभएर भ्रष्टाचार विरुद्धको अभियान समेत भएको गजुरेलले बताए । उनले भने, ‘नाफा नकमाए हुन्छ तर लगानी घाटा हुनुहुन्न । किनभने यसले आगामी दिनमा राम्रो म्यासेज लिएर आएका चलचित्र निर्माताहरू हतोत्साही हुन्छन् त्यसैले पनि यस्ता चलचित्र हेर्नुपर्छ ।’