विराटचोकः सलकपुर साना शहरी खानेपानी उपभोक्ता समतिको १३ औ साधारण सभाले नगरपालिकाका लागि भएको मेयरको चुनावको झझल्को दिएको छ ।

अहिलेसम्म काङ्ग्रेसले जित्दै आएको सो खानेपानी उपभोक्ता समितिमा नेकपाले पहिलो पटक उम्मेदवारी दिएको छ । अघिल्ला अधिवेशनमा सर्वसम्मत रूपमा काङ्ग्रेस निकट व्यक्तिले खानेपानीको नेतृत्व सम्हालेका थिए । तत्कालीन नेकपा एमाले र माओवादीबीच एकीकरण भएपछि खानेपानीको नेतृत्वमा यसपटक चुनाव भएको हो ।

नेकपाले सुन्दरहरैंचा नगरपालिकाको मेयरमा पराजित भएसँगै खानेपानीको चुनावमा जितेर काङ्ग्रेसलाई पछि पार्ने पक्षमा रहेको छ । उता, मेयरसमेत आफनो पार्टीले जितेपछि सुन्दरहरैंचाका सबै संघ संस्थामा आफ्नो वर्चस्व राख्न काङ्ग्रेस पनि लागि परेको छ ।

सलकपुरमा रहेको ब्राइट फ्युचर इङ्लिस स्कुलका प्रिन्सिपल टीकाराम ढकालले नेकपाको प्यानलबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । काङ्ग्रेसबाट गजेन्द्र भट्टराई (गोरख) उम्मेदवार बनेका छन् ।

सोमबार भएको मतदानमा ७३ प्रतिशत मत खसेको छ । १ हजार ७ सय ९२ मतदाता रहेको सो समितिमा १ हजार २ सय ९२ मत खसेको मतगणना प्रतिनिधि ऋषिराज रेग्मीले बताए । ११ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समितिका लागि निर्वाचन भएको हो ।