झापाः झापाको ६ वटा स्थानीय तहमा महालेखा परीक्षकको कार्यालयबाट आएको टोलीले आर्थिक वर्ष २०७५ ÷०७६ लेखापरीक्षण गरेको छ । महालेखा परीक्षकको कार्यालयकोतर्फबाट आएको निर्देशक अनन्तप्रसाद तिवारीको नेतृत्वमा रहेको ४ सदस्यीय टोलीले मेचीनगर, अर्जुनधारा दमक नगरपालिका तथा झापा, बाह्रदशी र बुद्धशान्ति गाउँपालिकाको लेखापरीक्षण गरेको टोली प्रमुख तिवारीले बताए ।

सोमबार मेचीनगर नगरपालिकाको लेखापरीक्षण गर्न आइपुगेको टोली र नगरपालिका पदाधिकारीसहित प्रमुख प्रशासकीय अधिकृत शाखा प्रमुखहरूबीच छलफल भएको थियो । लेखा परीक्षण टोलीलाई लेखापरीक्षण कार्यमा आवश्यक सहयोग गर्ने तथा लेखापरीक्षण कार्यलाई सरल सहज र समयमा नै सम्पन्न गर्ने गराउने कार्यमा सवै पदाधिकारीहरुले पूर्ण सहयोग गर्ने निर्णय भएको तिवारीले जानकारी दिए ।

नगरपालिकाका तर्फबाट नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खामयाहाङ, लेखा अधिकृत पदमबहादुर कार्की, सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्ती, योजना शाखाका इञ्जिनियर कमल कोइरालालगायतको सहभागिता थियो ।

महालेखा परीक्षकको कार्यालयबाट आएको टोलीमा लेखापरीक्षण अधिकारी कृष्णप्रसाद दाहाल, लेखापरीक्षण अधीक्षक मधुसुदन महत र नारायणप्रसाद आचार्यको सहभागिता रहेको थियो ।

निर्देशक तिवारीका अनुसार अहिले मिडियामा जसरी स्थानीय तहका बारेमा समाचार आइरहेका छन् त्यस्तो भेटिएको छैन । टोलीले विभिन्न स्थानीय तहले उपभोक्ता समितिमार्फत् गरेका काम कारवाहीको परिचालन, व्यवस्थापन अनुगमनको बारेमा हेर्ने छ ।

स्थानीय तहका पदाधिकारीले प्रदेश सरकारले बनाएको कानुन वा तोकेको रकमभन्दा बढी लिएको देखिएमा तत्काल उक्त रकम असुलउपर गर्न सुझाव पेश गरेको टोलीले जनाएको छ ।