इटहरी: सङ्घीय सरकारले बनाएको मर्यादाक्रमको विषयलाई लिएर प्रदेश मन्त्री र प्रदेश सभा सदस्यहरूले सङ्घीय सरकार समक्ष गुनासो व्यक्त गरेका छन् । १ नम्बर प्रदेश सभाको मङ्गलवार बसेको बैठकमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सङ्घीय सरकारसँग गुनासो गरेका हुन् ।
'मर्यादाक्रमको विषयमा माननीय सदस्य ज्युहरूले प्रदेश सरकारलाई प्रश्न उठाउनु भयो, हो यो मर्यादाक्रमको विषयलाई लिएर सङ्घीय सरकार समक्ष प्रदेश सरकारको पनि गुनासाहरू रहेका छन्' शून्य समयमा प्रदेश संसदहरुले उठाएको प्रश्नहरूको उत्तर दिने क्रममा कार्कीले भने 'मर्यादाक्रमको मर्यादाले एउटालाइ मान गर्यो अनि धेरैलाइ अपमान भएको अनुभूति भएको प्रदेश सरकारले समेत मनन गरेको छ ।'
तेस्रो अधिवेशन सुरु भए देखि नै प्रत्येक बैठकमा मर्यादाक्रमको चर्चा हुने गरेको थियो । संसदहरुले महानगरपालिका मेयर आफू भन्दा माथिल्लो मर्यादाक्रममा राखेको भन्दै दुख व्यक्त गर्दै आएका थिए ।
'महानगरको मेयर आज प्रदेश मान्य भन्दा माथि छन् सङ्घीय सरकारले के गर्न खोजेको खै सङ्घीयताका सारथि प्रदेश सभाका सदस्यको मर्यादा लाइ किन तल्लो सम्झेका होलान् भन्दै नेकपाका एक सांसदले सभामुख मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
सोही ध्यानाकर्षणको जबाफ दिँदै कार्कीले सङ्घीय सरकारलाई पुन एक पटक जानकारी गराई मर्यादाक्रम संशोधन गराउने आश्वासन दिएका हुन 'पटक पटक प्रदेशले सङ्घीय सरकारलाई मर्यादाक्रम संशोधन गर्न आग्रह गरिसक्दा पनि समाधान हुन सकेको छैन' कार्कीले भने 'अब आधिकारिक निर्णयका साथ नै सङ्घीय सरकारलाई यो विषयमा ध्यानाकर्षण गराउँदछौ ।'