इटहरीः इटहरीमा बिहीबारबाट शुरु भएको इटहरी फुड फेष्टिबल एन्ड टुरिजम फेयरमा हात्तीदेखि हेलिसम्मका प्याकेज ल्याइएको छ । मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको फेस्टिबलमा प्रदेश १ को परिचय दिने तीनजुरे, मिल्के, जलजले क्षेत्रको लालीगुराँस र कोशी टप्पुको अर्नाको प्रतिमा बनाइएको छ ।

यस्तै, इलामको चियाबारी, उत्तरी हिम शृङ्खला, ¥याफ्टिङ, प्याराग्लाइडिङ र डाँफे आदिको प्रतिमा राखिएको छ । होटल व्यवसायी सङ्घ इटहरीको आयोजनामा जनता माविको खेलमैदानमा चलिरहेको फेस्टिबलमा गत बिहीबार हात्ती अगाडि लगाएर पर्यटन र्याली निकालिएको थियो ।

यस्तै, महोत्सव अवधिभर कोशी टप्पुबाट ल्याइएका २ वटा हात्तीसँग सेल्फी लिन पाउने व्यवस्था गरिएको आयोजक होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पराजुली बताउँछन् । त्यस्तै, महोत्सवकै अवसरमा इटहरी रंगशालाबाट पहिलोपटक सिटी हेलिटुर र हेलिकोप्टरबाट पाथीभरा दर्शनका कार्यक्रम पनि ल्याइएको छ ।

mid-page-add-from-magh-25 1

सिटी टुरको लागी ४ हजार ९ सय ९९ रुपैयाँ र पाथीभरा दर्शनको लागि ३१ हजार रुपैयाँ भाडा तोकिएको आयोजकको भनाइ छ । सङ्घका महासचिव उमेश दाहालका अनुसार माउण्टेन एयरसँगको सहकार्यमा इटहरीमा हेलि उडान भएको हो ।

महोत्सव स्थलमा रहेका ६० वटा विभिन्न स्टल रहेका छन् । दैनिक सांस्कृतिक कार्यक्रम, बाल उद्यान आदि समेटिएको महोत्सव ९ दिनसम्म सञ्चालन हुने भएको छ । सोलुखुम्बुको फागीदेखि इलामको ग्रीनटी सम्म एकै स्थानमा पाइने महोत्सवमा प्रदेश १ का चौधै जिल्लाका मौलिक खानाका परिकार राखिने कार्यक्रम संयोजक दीपक पोखरेल बताउँछन् ।