ताप्लेजुङः ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खीम अमटार बस्तीमा रहेको चमेरे गुफा पर्यटकको गन्तव्य वन्न सक्ने भए पनि प्रचार–प्रसार र संरक्षणको अभावमा पछि परेको छ । वर्षौदेखि हजारौ चमेराले भरिएको उक्त गुफाको संरक्षण र प्रचार–प्रसारमा कसैले चासो नदिएकाले ओझेलमा पर्दै गएको हो ।
दुई दशक अघि जति संख्यामा चमेरा देखिन्थ्यो उति नै संख्यामा अहिले पनि देख्न स्थानीयको भनाई छ । विश्वमा नै दुर्लभ हुँदै गएको चमेरालाई संरक्षण गर्ने उद्धेश्यले विभिन्न क्षेत्रमा संरक्षण क्षेत्र नै घोषणा गरिए पनि वर्षौदेखि हज्जारौँको संख्यामा चमेरा रहेको यस गुफालाई संरक्षण गर्ने विषयमा भने कसैले वास्ता गरेका छैनन् ।
गुफामा पहिले आन्तरिक पर्यटहरु हेर्न पुग्ने गरे पनि अहिले त्यहाँ पुग्ने बाटो साँघुरो र अप्ठ्यारो बन्दै कोही पनि जान छाडेका छन् भने प्रचार–प्रसार नहुँदा थप पर्यटकलाई तान्न समेत नसकिएको स्थानीय श्याम तामाङले बताए । उनका अनुसार यो गुफामा वर्षौ पहिलेदेखि चमेराहरु बस्दै आएका छन् ।
यस अघिका विभिन्न निर्वाचनमा गुफालाई संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उम्मेदवारको नारा बन्ने गरे पनि निर्वाचनपछि भने कसैले वास्ता नगरेको स्थानीयको आरोप छ । यस्तै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके फाईदा पुग्नेमा समेत स्थानीय विस्वस्त छन् । चमेरा रहेका गुफाहरु कमै मात्र पाईने गरेकाले पनि यस गुफालाई संरक्षण गर्दै प्रचार प्रसार गर्न सके पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने स्थानीयले दावी गरेका छन् । स्तनधारी जीव चमेरो पर्यावरण र जैविक विविधताको दृष्टिकोणले समेत उपयोगी मानिन्छ ।