झापा/ जागिरको सिलसिलामा बेलायत पुगेका धन गुरुङको मन भने नेपालमै छ । ‘म जहाँ पुगे पनि मेरो मन भने सधैँ मातृभूमिमै हुनेछ’, झापा मेचीनगर– ६ मा जन्मिएका धनकिरण गुरुङले कुराकानीको शुरुमै भने, ‘मेरा सबै कर्महरूको एक हिस्सा नेपाल आमाप्रति समर्पित हुनेछ ।’ गुरुङ बेलायतको फोक्सटन सिटीमा काउन्सिलर पदमा निर्वाचित हुने पहिलो नेपाली हुन् ।
सन् १९९१ तिर ब्रिटिस सेनामा प्रवेश गरेका धन गुरुङ यतिबेला सेवा निवृत्त जीवनमा छन् । अवकाशपछिको सयम उनले समाजसेवा, राजनीति र गीतसङ्गीतलाई दिएका छन् । बेलायतको फोक्सटन सिटीबाट पहिलो नेपालीका रूपमा काउन्सिलर बनेका गुरुङ त्यसयता निरन्तर समाजसेवा र राजनीतिमा सक्रिय देखिन्छन् । गुरुङले आफू काउन्सिलर भएका बखत मेचीनगर र फोक्सटन सिटीबीच भगिनी सम्बन्ध स्थापित गर्ने प्रयास पनि गरेका थिए ।
बेलायत बस्दा त्यहाँ रहेका नेपालीहरूको नेतृत्व गर्दै नेपालमा आवश्यक सहयोग र भाइचाराको विकास गर्न गुरुङ निरन्तर क्रियाशील छन् । उनकै पहलमा केही समयअघि मेचीनगर नगरपालिकालाई वारुणयन्त्र र एम्बुलेन्स उपलब्ध गराइएको थियो ।
गुरुङकै एकल प्रयासमा काँकरभिट्टा माध्यमिक विद्यालयमा ३२ थान कम्प्युटर प्रदान गरी कम्प्युटर प्रविधि शिक्षा परियोजना शुरु भएको छ । गुरुङले पढेको विद्यालय पनि भएको र सो विद्यालय स्थापना गर्न गुरुङका बुबा नरबहादुर गुरुङको योगदान रहेकाले उनकै स्मृतिमा सो परियोजना स्थापना गरिएको गार्खा मेमोरियल फाउन्डेसन नेपालका महासचिव जगत गुरुङले बताए ।
यस्तै परियोजना नेपालका विभिन्न विद्यालयहरूमा स्थापना गर्ने आफ्नो लक्ष्य रहेको धन गुरुङ बताउँछन् ।
यसैबीच, नेपालको दुर्गम जिल्ला रोल्पाको थवाङस्थित बलभद्र माध्यमिक विद्यालयमा कम्प्युटर प्रविधि शिक्षा परियोजना स्थापना गर्न गुरुङ यतिबेला बेलायतमा साङ्गीतिक यात्रामा निस्किएका छन् ।
अगष्ट २५ तारिख अर्थात् भदौ ९ गते शनिबार र सेप्टेम्बर १५ तारिख अर्थात् भदौ ३० गते शनिबारका दिन उनी कल्याणकारी योजनासहित एकल प्रस्तुतिमा निस्कँदैछन् ।
अगस्ट २५ तारिखमा उनको कार्यक्रम हरो फुटबल क्लब लण्डनमा र सेप्टेम्बर १५ तारिखमा स्वीडेनमा हुँदैछ । दुवै कार्यक्रम सहयोग सङ्कलनार्थ सञ्चालन हुनेछन् ।
सानै उमेरदेखि गीतसङ्गीतप्रति रुचि राख्ने गुरुङले नेपाल टेलिभिजनले आयोजना गरेको प्रतिभाको खोजी कार्यक्रममा समेत सहभागिता जनाएका थिए । लाहुरे जीवनकै क्रममा पनि उनले गीतसङ्गीतलाई निरन्तरता दिइरहेका थिए ।
कोलकत्ताको म्युजिक एकाडेमी तथा काठमाडौं र पछि युकेमा समेत उनले सङ्गीत अध्ययन गरेका थिए । यस क्रममा उनले कयौं गीत गाएका छन् भने सयाँै गीतमा सङ्गीत भरेका छन् ।
यसै क्रममा उनले आफ्नै नेतृत्वमा द हिमालयन टु ब्याण्ड मार्फत् हङकङ, ब्रुनाइ, मलेसिया, बेलायत लगायतका देशमा प्रस्तुति दिइसकेका छन् । यतिबेला उनी आफ्नो यही कलालाई देशसेवामा लगाउने योजनामा छन् ।
यो साङ्गीतिक कार्यक्रमबाट प्राप्त रकम रोल्पाको थवाङ र दार्जिलिङको गोर्खा वार म्युजिमको सहयोगमा खर्च गरिने गुरुङले बताए । उनको साङ्गीतिक कार्यक्रमको आयोजना भने गोर्खा म्युजिक फाउण्डेशन युकेले गर्दैछ ।
उनलाई यो कार्यक्रममा गोर्खा नेप्लिज रक ब्याण्ड युकेका आशिक गुरुङ, उर्मिला पल राई, रविन लिम्बू, क्लासिकल नर्तकी फ्रान्सिस्का घले राईले साथ दिनेछन् ।
कार्यक्रमबाट सङ्कलन भएको सबै रकम कल्याणकारी कार्यमा प्रयोग गरिने भएकाले सबैलाई साथ सहयोग गर्न गुरुङले आग्रह गरेका छन् ।