विराटनगरः प्रदेश सरकार रुन पनि नसकेको विपक्षीले आरोप लगाएको छ । प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा मुख्यमन्त्री कार्यालयमा भएको कार्यक्रममा सहभागी भए पछि प्रदेश १ संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससका प्रमुख सचेतक केदार कार्कीले अधिकार प्राप्तिका लागि केन्द्र सरकारसँग लड्न डराएको भन्दै सरकार कमजोर भएको तर्क गरे ।
प्रदेश पाेर्टलसँग कुरा गर्दै कार्कीले प्रदेश सरकार र केन्द्र सरकार मलिन र हरुवा बिचको जस्तो मात्र भएको भन्दै आलोचना गर्ने ठाउँ नै नदिएको बताए । 'मालिक र हरुवा बिचमा आलोचना मालिक कै हुन्छ नि' उनले भने– 'सरकारले केन्द्रसँग जुधेर अधिकार लिन पनि नसक्ने काम गर्न पनि नसक्ने ।'
प्रतिपक्षीको सहयोगमा संसद्मा कानुन बनाइएको विषयलाई सरकारले गर्वको विषय नबनाउन आग्रह गरे । 'सरकारले गरेको काम त एक्लै गरेर ल्याएको उपलब्धिलाई देखाउनु पर्ने हो, संसद्को काममा त प्रतिपक्षीको पनि भूमिका छ नि ।' उनले भने ।
मूल मुद्दालाई किनारा लगाउन नसक्नु, संसदीय समितिलाई पूर्णता दिन नसक्नु र सङ्घीय सरकारसँग सङ्घर्ष गरेर कर्मचारी ल्याउने, आफैँले भर्ती गर्ने अख्तियारी ल्याउन नसक्ने लगायतका काम गर्न नसक्ने, मन्त्रिमण्डल विस्तार गर्न नसक्ने सरकारले गर्वका साथ एक वर्ष सफलतापूर्वक बित्यो भनेर गफ दिनु औचित्यहित भएको कार्कीको तर्क छ ।
त्यस्तै नेपाली काँग्रेसका तर्फबाट प्रदेश सदस्य बनेका सुयर्माराज राईले सरकारले गुलिया कुरा मात्र गरेको टिप्पणी गरे । जनतामाफ ठुला ठुला कुरा मात्र गरेको भन्दै संसद्मा समेत सांसदलाई मिठा कुरा गरेर मुख्यमन्त्री शेरधन राईले झुक्क्याएको राईले तर्क गरे ।
विकास खर्च गर्न नसकेर बजेट फिर्ता हुने अवस्था रहेको भन्दै सरकार यो मामलामा कमजोर साबित हुँदै गएको तर्क गरे । उनले सरकारले खर्च गर्ने सामर्थ्य बढाउन समेत सुझाव दिए । सांसद योजनाका फाइल लिएर आउन तयार रहेको भन्दै केन्द्र सरकारको जस्तो बजेट फ्रिज गराउन नहुने बताए । यद्धपी सङ्घीयता कार्यान्वयन गर्ने हिसाबले भने प्रदेश सरकारको भूमिका सकारात्मक रूपमा रहेको टिप्पणी गरे ।