ताप्लेजुङ: विश्व शान्ति तथा सम्पूर्ण प्राणि जगत्को हितका लागि ताप्लेजुङमा तेस्रो पटक बज्रगुरु मन्त्रजप सञ्चालन हुने भएको छ । आगामी चैत्र २० गतेदेखि २२ गतेसम्म फुङलिङ नगरपालिकास्थित सुकेटारमा बज्रगुरु मन्त्रजप कार्यक्रम तथा आचार्य पद्मसम्भव मन्त्र पुजा सञ्चालन हुने भएको हो । उक्त कार्यक्रम बारे शुक्रबार ताप्लेजुङमा पत्रकार सम्मेलनको आयोजना गरि स्थानीय आयोजक समितिले जानकारी दिएको हो ।
परम पुजनीय क्याब्जे सेचेन रब्ज्याम रिम्पोछेको प्रमुख आतिथ्यतामा सञ्चालन हुने उक्त मन्त्रजपमा विभिन्न अवतारी रिम्पोछे सहित करिव ५ सय लामा गुरुहरु र सयौँको संख्यामा उपासक उपासिकाहरुको सहभागिता रहने छ । लगातार ताप्लेजुङमा तीन पटकसम्म मन्त्रजप आयोजना गर्ने यस अघिको समितिको निर्णय अनुसार यो तेस्रो पटक मन्त्रजप आयोजना गर्न लागिएको हो ।
यस अघि लगातार दुई वर्षमा ताप्लेजुङमा उक्त मन्त्रजप सम्पन्न भएको थियो । पुर्वीय दर्शनको संरक्षण गर्ने, जातीय सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।
मन्त्रजप गर्दा आफ्नो मन (चित्त) शुद्ध भई सवै प्रकारको पुण्य लाभ प्राप्त हुने बौद्ध धर्मावलम्बीहरुको विस्वास छ । बुद्ध र बोधिसत्वको मन्त्रजप गर्नाले मन शुद्ध हुनुका साथै बुद्धत्व प्राप्त हुने समेत विस्वास रहेको छ । मन्त्रजपको अन्तिम दिन चैत्र २२ गते बौद्ध धर्मबारे प्रवचन सहित आयु अभिषेक र छिवाङ प्रदान गरिने जनाईएको छ ।