धरानः धरानको पर्यटन विकासको लागी चिन्डेडाँडा, शिवजटा जस्ता क्षेत्रहरूमा भएका सार्वजनिक जग्गामा होटल खोल्न दिनुपर्ने धरानका नेकपा नेता चोत्लुङले बताएका छन् । पर्यटकीय महत्त्वका यस्ता क्षेत्रका सार्वजनिक जग्गामा होटल खोल्न व्यवसायीलाई प्रोत्साहन हुनुपर्ने नेता चोत्लुङले बताए । धरानमा धेरै र स्तरीय पर्यटकहरू ल्याउनको लागी सबैभन्दा पहिलो काम स्तरीय होटलहरु खोल्नुपर्ने बताउँदै नेता चोत्लुङले यस्तो बताएका हुन ।

धरानमा पहाड र तराई दुवै क्षेत्रको महसुस हुने भूगोल र हावापानी भएको भन्दै नेता चोत्लुङले बढी भन्दा बढी होटल सञ्चालनमा स्थानीय सरकारको सहयोग आवश्यक हुने बताए ।
शनिवार साँझ धरानको होटल रत्न इनमा भएको होटेल असोसिएसन अफ धरानको १० औँ पदस्थापन तथा बिसौँ स्थापना दिवसको अवसरमा नेता चोत्लुङले यस्तो बताएका हुन ।
यस्तैगरि, धरानमा खुलेका तारे होटललाइ कर मिनाहा वा छुट दिन स्थानीय सरकार तयार हुनुपर्ने उनले बताए । भने, ‘धरानमा पर्यटकहरू ल्याएर सहयोग गर्ने तारे होटलहरुलाइ हजार बढी स्क्वारफिटको जमिनको कर छुट किन नदिने?’