इटहरी/ इटहरीमा रहेको इटहरी नमुना कलेजले सम्बन्धन नै नपाएको विषयमा शैक्षिक भर्ना भन्दै विज्ञापन गरेको पाइएको छ ।

आफूले विश्वविद्यालयबाट पाएको सम्बन्धनका विषयहरूमा मात्रै विज्ञापन र विद्यार्थी भर्ना गर्नुपर्ने नियमसङ्गत तरिका विपरीत इटहरी नमुना कलेजले जथाभावी विज्ञापन गरेको छ ।

कलेजको आफ्नो फेसबुक पेज तथा विभिन्न आम सञ्चारमा सम्बन्धन नै नपाएको विषयमा विज्ञापन गरिरहेको छ । इटहरीमा केही वर्ष अगाडि मात्रै सञ्चालनमा आएको यो कलेजले विभिन्न रङ्गीचङ्गी विज्ञापनमार्फत् सम्बन्धन नै नपाएको विषयमा पढाइ हुने भनी विज्ञापन गरिरहेको छ ।

namuna (1)

यसरी सम्बन्धन नै नपाएको विषयमा विज्ञापन गरेर विद्यार्थीहरूलाई पङ्गु बनाइएको कलेजका एक पूर्व विद्यार्थी बताउँछन् । सोही कलेजबाट आम सञ्चार विषयमा स्नातक गरेर हाल मिडियामै काम गरिरहेका ती विद्यार्थीका अनुसार कलेजले सम्बन्धन पाएका विषयहरूका पनि विज्ञापनमा फटाइँ गरिरहेको छ । जस्तै, मानविकी सङ्कायको सोसल वर्क एक मेजर विषय मात्रै हो तर कलेजले सो विषय नै फ्याकल्टी (सङ्काय) भएजस्तै विज्ञापन गर्छ ।

बिए भन्नुपर्नेमा बिएसडब्लु भन्दै विद्यार्थीहरूलाई बिए र बिएसडब्लु फरक हो भन्ने भ्रममा कलेजले राखेको ती पूर्व विद्यार्थीले बताए । उनले भने, ‘जनता क्याम्पसमा बिए पढेकाहरूले मानवशास्त्र र अर्थशास्त्र मेजर लिएजस्तै मात्रै हो बिएसडब्लु पनि । तर, यहाँ त बिए र एक मेजर विषय सोसल वर्क नै पृथक हो भन्ने भ्रम सार्वजनिक गरिएको छ ।’ सिधै बिए भन्दा विद्यार्थीहरूलाई विकर्षण हुने डरले बिएकै एक मेजर विषयलाई फ्याकल्टी जस्तै विज्ञापन गरेको उनले बताए ।

अघिल्लो वर्ष पनि सम्बन्धन नै नपाएको विषयमा विद्यार्थी भर्ना
यो वर्ष सम्बन्धन नै नपाएको विषयमा विज्ञापन गरेको इटहरी नमुना कलेजले गत साल पनि यस्तै फट्याइँ गरेको थियो ।

सगरमाथा टेलिभिजनका सुनसरी संवाददाता ध्रुव ढकालले सो विषयमा बनाएको एक टेलिभिजन रिपोर्ट अझै युट्युब र फेसबुकमा ताजै छ । उक्त रिपोर्टअनुसार गत वर्ष इटहरी नमुना कलेजले २१ जना विद्यार्थीहरूलाई आफूले सम्बन्धन नै नपाएको विषयमा खुलेआम विद्यार्थी भर्ना गरेर विद्यार्थीहरूलाई दुःख दिएको थियो ।

namuna (2)

विद्यार्थी सन्तोष शाह, जयप्रसाद शर्मा लगायतका पीडितहरूले त्रिभुवन विश्वविद्यालयले सम्बन्धन नदिएकाले भर्ना नगरेर कलेजले एक वर्ष बर्बाद गरेको बताएका थिए । अन्त कतै पनि नभएको विषय पढाउने भन्दै भर्ना लिइएको तर पछि त्रिभुवन विश्वविद्यालयले सम्बन्धन नदिएको भन्दै विद्यार्थीहरूलाई कक्षा सञ्चालनको १ महिनासम्म पनि अल्मल्याएर अन्य विषय रोज्न प्रलोभन दिइएको उनीहरूले बताएका थिए । पछि अभिभावक, विद्यार्थी र मिडियामा कुरा सार्वजनिक भएपछि भने कलेजले पैसा फिर्ता गर्दै अभिभावकहरूलाई थामथुम पारेको थियो ।

अघिल्लो वर्ष पीडित विद्यार्थी शिशिर गुरागाईंले आफूहरूले कम्प्युटरको स्नातकको अध्ययन गराउने विषय ‘बिसिए’ पढाइ हुने भनेर इन्ट्रान्सदेखि भर्ना पनि गरेको तर पछि सम्बन्धन नपाएको भन्दै फर्काएको सगरमाथा टिभिसँग बताएका थिए ।

पीडित विद्यार्थी रश्मी निरौलाले त आधा आँखा भिजाएर भनेकी थिइन्, ‘सरहरूले त आफँै विकल्प खोज भन्नुभएको छ ।’ यस वर्ष पनि ठीक त्यसरी नै कलेजले सम्बन्धन नै नपाएको विषयमा विज्ञापन गरिरहेको छ ।

चर्चित सञ्चालकहरूको अलोकप्रिय काम
इटहरी नमुना कलेजका सञ्चालहरूमा इटहरी क्षेत्रकै शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रका प्रतिष्ठित नामहरू छन् । तर, विद्यर्थी भर्ना, विज्ञापनदेखि शैक्षिक पूर्वाधारमा भने कलेज पछि छ । जस्तै, मास कम्प्युनिकेसन पढाउन अनिवार्य मिडिया ल्याब हुनुपर्छ तर कलेजमा त्यो छैन ।

namuna (3)

निजी कलेज आवासीय घरमा सञ्चालन गर्न असहज हुन्छ तर कलेज त्यसैगरी सञ्चालित छ । अझ कलेज बन्नका लागि सरकारले तोकेका खेलमैदानलगायतका आवश्यक मापदण्ड पनि कलेजमा छैनन् । केशव खड्का, दीपेन्द्र केसी, धर्म न्यौपाने, राम राई, चिरन्जीवि तिम्सिना, आनन्द पोखरेल लगायत अन्य गरेर ११ जना सञ्चालकहरू रहेका छन् ।

यो समूहले मलेसियाको लिङ्कन विश्वविद्यालयको सम्बन्धनमा पनि केही शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्छ । प्लस टु का कार्यक्रमहरू पनि चलाउँछ । तर, यही संस्थाबाट घरिघरि यस्ता विकृतिहरू आउने गरेको सोही कलेजका एक अभिभावक बताउँछन् ।

namuna (4)

पहिले कुरा भएको थियो अहिले छैन : प्रिन्सिपल न्यौपाने
यसै बीच कलेजले सम्बधन नै नदिएको विषयमा विज्ञापन गरिएको बारेमा बुझ्न खोज्दा कलेजका अध्यक्ष केशव खड्काको फोन उठेन । उता, प्रिन्सिपल धर्म न्यौपानेलाई बुझ्दा उनले त्यस्तो विज्ञापन नभएको बताए । आफूहरूले एमएसडब्लु ल्याउने चर्चा गरे पनि अहिले नआएको बताउँदै न्यौपानेले भने, ‘अब यस पटक आउँदैन भन्ने बुझ्नुपर्छ ।’

फट्याइँ देखिए कारबाही हुन्छ : मेयर चौधरी
यसरी सम्बन्धन नै नपाएको विषयको विज्ञापन गरेको सम्बन्धमा के कारवाही हुन्छ भनी बुझ्दा इटहरीका मेयर द्वारिकलाल चौधरीले त्यसो गर्न नमिल्ने बताए ।

शिक्षा समितिका संयोजकसमेत रहेका प्रमुख चौधरीले कलेजहरूले पढाइ नहुने विषयको पढाइ हुन्छ भन्दै कुनै पनि माध्यमबाट विज्ञापन गरेमा त्यो गैरकानुनी हुने बताए । पूर्वी बजारसँगको मोबाइल कुराकानीमा उनले भने, ‘फटाइँ देखिएमा इटहरी नमुना कलेजलाई कारबाही हुन्छ ।’

namuna (5) namuna (7) namuna (6)