कोशी व्यारेज, सुनसरी/ सरकारले सामुदायिक विद्यालयहरुमा निः शुल्क अध्ययनको व्यवस्था गरेपनि नीति विपरित अनेक बहनामा अभिभावकहरुसंग शुल्क असुल्ने परिपाटीको अन्त्य नभएका कारण धेरै बालबालिकाहरु स्वतन्त्रपूर्वक शान्तिपूर्ण तरिकाले अध्ययन गर्नबाट बञ्चित भईरहेका छन् । जसको उदाहरण बनेका छन् , कोशी व्यारेज वरिपरि बसोबास गर्ने नेपाली नागरिकहरुका छोराछोरी । उनिहरु गरिबीका कारण बर्षभरी लाग्ने पढाई खर्च जुटाउन बर्षा(असार, साउन र भदौं ) महिनाभरी ज्यानको कुनै प्रवाह नगरि कोशीमा बाढीले बगाएर ल्याएका दाउरा संकलन गर्न बाध्य छन् । कोशी व्यारेज हुदै यात्रा गर्ने जो कोहीले यो सिजनमा बाढीले बगाएर ल्याईरहेको काठ ÷दाउरा संकलन गर्न ज्यान जोखिममा राखेर सघर्ष गरिरहेका दर्जनौ बालबालिकाहरु देख्दै आईरहेका छन् । ।

koshi 1

घरमा आर्थिक अभावका कारण अभिभावकहरुले कमाएको पैसाले मात्र घर नचल्ने र पढाई खर्च धान्न नसक्ने भएकाले बाढीले बगाएर ल्याएको काठ दाउरा संकलनका लागि उनिहरु जोखिम मोल्न बाध्य छन् ।

कोशी व्यारेजमा खोलिएका ढोकामाथि दैनिक बस्ने बालबालिकाहरुले लठ्ठीमा भाला उनेर घरमै बनाएको औजारको सहायताले बाढीले बगाएर ल्याएको काठदाउरा निकाल्दै आएका छन् । मंगलवार कोशी व्यारेज पुग्दा तीन दर्जन बालबालिकाहरु काठ दाउरा निकाल्नका लागि तछाड मछाड गरिरहेको भेटिए ।

खोलिएको ढोकाको साँघुरो ठाँउमा बसेर उनिहरु आफैले बनाएको घरेलु औजारको सहायताले काठ दाउरा निकाली रहेको थिए । उनिहरुका अभिभावकहरु भने कोशी व्यारेज पुलमा आफ्ना छोरा छोरीले भालाले उनेर बाढीबाट निकालेको काठ दाउरा घरसम्म लैजानका लागि तयारी गरिरहेका थिए ।

कोशी व्यारेजको खोलिएको ५१ नम्बर ढोका माथि बसेर साथीहरुसंगै काठ दाउरा निकाल्न तछाड मछाड गरिरहेका स्थानीय १२ बर्षीय अरुण मुखियाले कोशीमा बाढी आएकोमा आफु,आफ्नो परिवार र साथीहरु खुसी भएको बताए । कक्षा ४ मा अध्ययन गरिरहेका मुखियाका अनुसार कोशीमा बाढी आएन भने एक बर्षभरी घर परिवार चल्न समस्या हुनुका साथै पढ्नका लागि कापी किताव र पोशाक किन्नसम्म नसक्ने उनले बताए ।

koshi 3

उनका अनुसार कोशीमा बाढी आउन साथ व्यारेज आसपासमा बस्नेहरुलाई दशै आउछ । दिनभरी संकलन गरेको काठ दाउरा घरमा लगेर सुकाउने र बजारमा लगेर बिक्री गर्ने उनले बताए । एक दिनमा २ हजारसम्मको काठ दाउरा कोशीबाट निकाल्दै आएको उनले बताए । उनि मात्र होइन,उनि जस्तै तीन दर्जन बालबालिकाहरु लठ्ठीमा उनिएको भाला र डोरीको सहायताले कोशी व्यारेजमा काठ दाउरा निकाल्न व्यस्त थिए ।

११ बर्षीय अमर कुमार मुखिया भन्छन्–‘घर र पढाई खर्च जुटाउन जोखिम त मोल्नै पर्यो नी । डर मानेर पनि भएन ।’ अहिलेसम्म कसैलाई केही नभएको उनले बताए । लठ्ठीमा उनिएको भाला र डोरी सहयोगले एक सय किलोसम्मको काठ तान्न सक्ने उनले बताए । ठूला ठूला काठका मुडाहरु पनि कोशीले बगाएर ल्याउछ । भालामा उनीसकेपछि बाहिर निकाल्नलाई अभिभावहरुलाई बोलाउने गरेको उनले बताए । ५० किलोसम्मको काठहरु साथीहरुको सहयोगमा आफै निकाल्ने गरेको उनको भनाई छ ।

कोशीमै जन्मिई हुकिएको हुनाले सानो तिनो बाढीबाट आफु नडराउने १४ बर्षीय मनोजकुमार माझीले बताए । बाढीले बगाएर ल्याएको काठ दाउरा निकाल्दा कहिले काँही साथीहरु व्यारेजपुलबाट तल झर्ने गरेको उनले बताए । प्रायः सबैलाई राम्रोसंग पौडि खेल्न आउने हुनाले ज्यान भने नगएको उनले बताए । तर ठूलो भंगालोमा परेमा बाँच्ने संभावना बढी हुने गरेकाले जोखिम भने रहने गरेको उनले बताए ।

koshi 4

 

कोशी व्यारेज पुलमा काठ दाउरा निकालीरहेका १० बर्षीय अर्जुन मुखियाका अनुसार अन्य दिनभन्दा शनिवारका दिन व्यारेजमा काठ दाउरा निकाल्न आउने बालबालिका संख्या बढी हुने गरेको छ । विद्यालय विदा हुने भएकाले सो दिन ५० जनाभन्दा बढी बालकालिकाहरु काठ दाउरा संकलनका लागि कोशी व्यारेजको ढोकामा आउने गरेको उनले बताए ।

जोखिम मोलेर दाउरा निकाल्दा व्यारेजको सुरक्षाका लागि खटिएको भारतीय पक्ष र नेपाली पक्षका अधिकारीहरुले आफुहरुलाई रोक्ने काम नगरेको बालबालिकाहरुको भनाई छ । काठ दाउरा निकाल्दा कोशी खसेर ज्यान गएमा हामीहरु जवाफदेही हुने छैनौं भनि सम्झाउने काम गरेको उनिहरुले बताए । जोखिम छ भन्ने जानकारी हामीलाई थाहा छ । तर काठ दाउरा ननिकाल्दापनि पेट पाल्न कठिन भएको आफ्ना छोरासंगै काठ दाउरा संकलन गर्न आएका तरावती मुखियाले बताइन् । व्यारेजको ढोकामा असर पर्छ भनेर आफूहरुलाई जान नदिएकाले छोरा छोरीलाई पठाएको उनको भनाई छ ।

कोशीले बगाएर ल्याएको काठ दाउरा निकाल्नलाई प्रतिवन्ध लगाइएको र ठूलालाई निकाल्न व्यारेजमा रहेका सुरक्षाकर्मीले नदिने भएकाले अभिभावकहरुले नै आफ्ना छोरा छोरीलाई व्यारेजको ढोकासम्म पठाउने गरेको स्थानीय धर्मेन्द्र यादवले बताए । कोशी व्यारेजबाट निकालिएको काठ दाउरा भारतीय बजारसम्म लगेर बिक्री गरिदै आएको यादवले बताए । बाढीको समयमा काठ दाउरा संकलन गरी घरमै थुपारेर राख्ने र हिउँदमा भारतीय बजारसम्म लगेर बिक्री गर्ने काम भईरहेको उनको भनाई छ । कोशी व्यारोजबाट निकालिएको काठ दाउरा निकासीका लागि कुनै कागजात पनि नचाहिने गरेको उनले बताए । काठ दाउरा अबैध भएपनि विना रोकटोक भारततिर निकासी हुने गरेको स्थानीयको भनाई छ ।