सङ्खुवासभा: जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभामा तालाबन्दी भएको छ । जनस्वास्थ्यले खोप लगाउने क्रममा तीन महिनाको बच्चाको मृत्यु भएको भन्दै आफन्तहरूले तालाबन्दी गरेका हुन् ।

जिल्लाको पाँचखपन नगरपालिकाका हाल खादबारी निवासी भविष्वर तथा कोविला श्रेष्ठको तीन महिनाकी छोरी समीक्षा श्रेष्ठको जनस्वास्थ्यको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तहरू आक्रोशित बनेका हुन् ।

आफन्त तथा स्थानीयहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै तालाबन्दी गरेका हुन् । बच्चा सामान्य बिरामी हुँदा खोप लगाउन ल्याएको तर कर्मचारीले केही वास्ता नगरी खोप लगाउँदा बच्चाको ज्यान गएको जारी विज्ञप्तिमा जनाइएको छ ।

मङ्गलवार दिउँसो बच्चालाई खोप लगाइएको र राति बिरामी भएपछि जिल्ला अस्पताल खाँदबारी ल्याइएको र अस्पतालको रिफर गरिएको थियो । रिफर पश्चात् धरान लैजाने क्रममा आज बाटोमा नै बच्चाको ज्यान गएको थियो ।

जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. लक्ष्मण खड्काले सुइकै कारणले बच्चाको ज्यान जाने सम्भावना कम रहेको बताए । उनले अरु नै कुनै कारणले बच्चाको ज्यान गएको हुन सक्ने बताए । बच्चाको स्थिति हेर्दा सुइले नभएको उनको भनाई छ ।