इटहरीः हालसालै न्युज ट्वान्टीफोर टेलिभिजनको कार्यक्रम सिधाकुरा जनतासँग मार्फत एजुकेसनल कन्सलटेन्सीहरुले दर्ता नै नभएको अस्ट्रेलियाको कलेजमा विद्यार्थी भर्ना गरेको कुरा सार्वजनिक भयो । हजार बढी नेपाली विद्यार्थीहरू सिड्नीमा रहेको एआइबिटी (अस्ट्रेलियन इन्टिच्युट अफ बिजनेस म्यानेजमेन्ट एन्ड टेक्नोलोजी) कलेजमा पढ्दै गर्दा कलेजको दर्ता खारेजी भएकाले विद्यार्थीहरू बिचल्लीमा परेको विद्यार्थीहरूले सिधाकुरा कार्यक्रममा भिडियोमा आएर रुदै बताएका थिए ।
एक वर्ष देखी डेढ वर्ष पढिसकेपछि र हप्ता दिन देखी एक वर्षको मात्रै भिजा म्याद भएका विद्यार्थीहरूले कलेज नै खारेज भएको भन्दै आफूलाई कन्सल्टेन्सीहरूले ठगेको बताएका थिए । एक विद्यार्थीले रुदै परिवारको पैसा, एक डेढ बर्से पढाइ कन्सल्टेन्सीले २–४ लाख लोभमा खाएर सकेको बताएकी थिइन । एक्सप्रेस एजुकेसन एन्ड भिजा सर्विसेस, मर्सि एजुकेसन, अल्फाबिटा, कंगारु एजुकेसन, डल्फिन, एबिसी माइग्रेसन एन्ड एजुकेसन, काठमान्डौ इन्फोसिस, कैलाश एजुकेसन लगायतका भएको विद्यार्थीहरूले बताएका छन् ।
आफूहरू अस्ट्रेलियाको सिड्नीमा रहेको एआइबिटीमा ठगिएको बताएकी विद्यार्थीले कलेजकै एक नेपालीले पनि असहयोग गरेको बताएकी थिइन । राजु रेग्मीको नामै किटेर त्यी विद्यार्थीले रेग्मीले नेपाली भएर नेपालीको विपक्ष र कलेजको पक्षमा बोलेको बताएकी थिएन ।
को हुन नेपाली भएर नेपाली विद्यार्थीको भविष्य बर्बाद गर्ने कलेजका म्यानेजर रेग्मी?
राजु रेग्मीको बारेमा सिधाकुरा जनतासँग कार्यक्रम मार्फत ‘कम्प्लेन’ आएपछि प्रदेशपोर्टल डटकमले उनको बारे खोजी गर्याे । अस्ट्रेलियामा रहेका केही नेपाली श्रोत र काठमाडौँमा कार्यालय भएर विवादमा नआएको एक कन्सल्टेन्सीका सञ्चालकबाट थाहा भयो रेग्मी दर्ता नै नभएको कलेजका व्यापार विकास व्यवस्थापक हुन । बिजनेस डेभलप्मेन्ट म्यानेजर भएर दर्ता नै नभएको एआइबिटी कलेजको प्रमोसन गर्थे रेग्मी । कलेजको प्रमोसनमा यत्ति सम्म लाग्थे कि उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा थर नलेखेर एआइबिटी नै लेखेका छन ।

नेपालको घर जनकपुर भएका रेग्मी नेपाल र अस्टे«लिया ओहोरदोहोर गरिरहन्थे । यसरी ओहोरदोहोर गर्नुको उद्देश्य नै अस्ट्रेलियाको अवैधानिक कलेजमा बढिभन्दा बढी नेपाली विद्यार्थीहरू लाने र कमाउने धन्दा रहेको रेग्मीलाई नजिकबाट चिनेका काठमाण्डौका एक एजुकेसनल कन्सल्टेन्सीका सञ्चालकले बताए । उनले भने, ‘उहाँमा इजि मनीको भूत भएको देखिन्छ । त्यही भएर दर्ता प्रक्रियामै रहेको कलेज वैधानिक र विश्व स्तरीय भन्दै हजार नेपाली लगेर बर्बाद पार्नु भयो ।’ रेग्मीले अवैधानिक कलेजलाई नेपालमा आक्रामक विज्ञापन नगरेको भए अहिले सिड्नीमा हजार नेपाली अलपत्र नहुने उनले बताए ।
नेपाल र नेपालीहरू भएका विभिन्न उत्सव महोत्सवहरूमा पुगेर उनी एआइबिटी कलेजको विज्ञापन गर्थे । उनले विज्ञापन गरेको भिडियो समेत प्रदेशपोर्टलले प्राप्त गरेको छ । एआइबिटी कलेजका तर्फबाट केही अस्ट्रेलियन शैक्षिक (ब्रोकरहरु)दलालहरु देखाएर विद्यार्थीहरूलाई स्तरीय पढाइ, भिजा देखी जागिर सम्मको सुरक्षा हुने भन्दै रेग्मीले विभिन्न मेला मोहोत्सहरुमा भन्ने गरेको चितवनमा एक विद्यार्थीले बताए ।
केही समय अगाडि भएको चितवन महोत्सवमा आएका रेग्मीलाई उद्धृत गर्दै उनले भने, ‘एआइबिटीमा आउनेहरूको भविष्य र भिजा दुवै सुरक्षित हुन्छ ।’
                    
        
        
                            
                                                            
        



















