धरान: आशाको किरण फैलिरहोस् घामसरी
पाईरहुँ सारा संसार अंगालो भरीभरी
घामसरी, अंगालो भरीभरी...
धन्यवाद, धन्यवाद, धन्यवाद !

संचारकर्मी अनुशील श्रेष्ठको शब्द, कल्याण सिंहको संगीतमा हङकङका प्रतिभाशाली गायक बिनोद मेख्खुको स्वरमा नयाँ गीत ‘धन्यवाद’ युट्युवबाट सार्वजनिक भएको छ ।
हाल हङकङमा कार्यरत पत्रकार अनुशीललाई गायक बिनोदसँग अर्का गायक कवी राईले भेट गराउदै गीत लेखिदिन प्रस्ताव गरेपछि यो सहकार्य शुरू भएको थियो । तीन वर्षअघि गीतकार श्रेष्ठलाई आफुले गाउन चाहेको गीतको ‘थीम’ सुनाएका थिए । जसअनुसार परिवारमा नयाँ सन्तानको आगमनले ल्याएको खुशीसँगै जीवनमा हरपल साथ, सहयोग, माया गरिरहने परिवार, आफन्त, साथीभाईहरू लाई ‘धन्यवाद’ दिने गीतको शब्द लेखिएको थियो ।

गीतकार श्रेष्ठ भन्छन्, ‘प्राप्त खुसी वापत प्रियजनलाई दिने ‘धन्यवाद’को ‘थीम’ मा गीत लेख्न ३ महिनाको समय लागेको थियो भने पुरै गीत बनेर म्युजिक भिडियो सार्वजनिक हुन ३ वर्ष लाग्यो ।’
शब्द तयार भएपछि बिनोदको स्वर सुहाँउदो सङ्गीतका लागि गीतकार श्रेष्ठले नेपालका चर्चित गीतकार कल्याण सिंहसँग सम्पर्क गरेका थिए । सिंहले यसअघि पनि अनुशीलको गीतमा संङ्गीत गरिसकेकाले सहकार्य गर्न सजिलो भएको थियो । मन छुने संङ्गीत तयार भएपछि एरेन्ज, रेकर्डिङ्ंगमा निकै समय लागेको थियो ।

आरोह अवरोहलाई समेटेर तयार पारिएको गीत धन्यवादमा कलाकारहरुले जीवन्त अभिनय गरेका छन् । गोपाल रसाईलीको एरेन्ज रहेको गीतको म्यूजिक भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोमा नायिका छुल्ठिम गुरुङ, शैलेन्द्र थेबे र डानियल प्रधानको अभिनय रहेको छ ।