खोटाङः किसानले लगाएका अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि बाँदरलाई समातेर नजिकको राष्ट्रिय निकुञ्जमा पुर्याउन खोटाङमा ‘बाँदर समाऔँ अभियान’ थालिएको हो ।
बाँदर समात्न गत माघ २१ गते दिक्तेल आइपुगेका दुई भारतीय शिकारीले यही फागुन ३ गते आफ्ना थप ३ सदस्य ल्याएर बाँदर समात्न थालेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।
भारतको उत्तरप्रदेशबाट झिकाइएका शिकारीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको लुछिममा २५ वटा बाँदर समातिसकेका छन् । बाँदर समात्न २ स्थानमा चारो राखेर जाल थापिएको थियो । त्यसमा परेका बाँदरलाई फलामे खोरमा थुनेर राखिएको वडा नं ५ का वडाध्यक्ष निर्मल राईले बताए ।
सोही वडाको खर्क भन्ने ठाउँका २ स्थानमा पनि बाँदरलाई जाल थाप्ने तयारी भइरहेको जनाइएको छ । नगरपालिकाभित्रका १५ वडाका किसानलाई दुःख दिइरहेका बाँदर समातेर निकुञ्ज पु¥याउन नगरपालिकाले १० लाख बजेट रुपैयाँ विनियोजन गरेको छ ।
खेतबारीका मकै, गहुँ, कोदो, अलैँची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली बाँदरले नष्ट गरेको थियो । किसानको उजुरीपछि बाँदरलाई समात्न नगरपालिकाकै आर्थिक सहयोगमा भारतीय शिकारी खोटाङ झिकाइएको बताइएको छ ।
एउटा बाँदर समातेवापत शिकारीलाई २ हजार रुपैयाँ पारिश्रमिक दिने व्यवस्था गरिएको छ । आगामी जेठ मसान्तभित्रमा २ सय ५० वटा बाँदर समात्ने गरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीच सम्झौता भएको बताइएको छ ।