भोजपुरः भोजपुर सदरमुकामका बजार पसलबाट १ लाख बराबरको म्याद गुज्रिएको सामग्री नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरको अगुवाइमा खाद्य सामग्री र पेय पदार्थ गरी ९७ हजार १ सय ७७ रुपैयाँको सामग्री नष्ट गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए ।
होटल, थोक तथा किराना पसलबाट ठूलो परिमाणमा बिस्कुट, पेय पदार्थलगायतका सामग्री नष्ट गरिएको हो । अनुगमन टोलीले प्रधान होटल, सजिना किराना पसल, केएफसी होटल, उषा होटल एण्ड लज, सुम्निमा गेष्ट हाउस, विनिता होटल, शेर्पा स्टोर्सलगायतका पसलबाट म्याद गुज्रिएका पेय पदार्थ र खाद्यान्न सामग्री फेला पारेको हो ।
टोलीले जिल्ला अस्पताल छेउका पसलदेखि चार भञ्ज्याङसम्मका २९ पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा म्याद गुज्रिएका अखाद्य सामग्री भेटिएका पसल तथा होटलका सञ्चालकलाई अर्को अनुगमनमा पनि यस्ता सामग्री भेटिएमा कारवाही गरिने सहायक प्रजिअ न्यौपानेले बताए ।