मेचीनगर: आदर्श माध्यमिक विद्यालय मेचीनगर— ८ को नवनिर्मित २ तले ४ कोठे पक्की भवनको विहीबार मेचीनगर नगरपालिकाका नगर प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेतीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । नेपाल सरकारको शिक्षा विभागद्वारा प्राप्त ३६ लाख तथा बाँकी विद्यालयको स्रोत गरी कुल ५३ लाख रुपैयाँमा भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक हेमकुमार खड्काले जानकारी दिए ।
भवनका प्रत्येक कोठामा धारा जडान गरिएको छ भने शौचालयको समेत व्यवस्था छ । उद्घाटनका अवसरमा बोल्दैं प्रमुख अतिथि समेत रहेका नगरप्रमुख आचार्यले अब सामुदायिक विद्यालयले शैक्षिक स्तरवृद्धि गरी अभिभावक र विद्यार्थीलाई आर्कषण गर्न लाग्नुपर्ने बताए ।
उहाँले नीजि विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अपेक्षा अनुरुप नभएकाले यसतर्फ ध्यान दिन जरुरी रहेको आवश्यकता औल्याए । उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरभित्रका सामुदायिक विद्यालयको उन्नति र शैक्षिक सुधारमा स्थानीय सरकार सक्रिय रहने बताउनुभयो । कार्यक्रममा मेचीनगर नगरपालिका, नगर शिक्षा अधिकारी उद्धव विष्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तराज पोखरेल लगायतले बोलेका थिए ।