पथरीः सरकारले रोग निदानका लागि थालेको अभियानलाई सार्थक तुल्याउन र नगरलाई हात्तीपाईले रोगमुक्त नगर बनाउनमा लागि मोरङको पथरीशनिश्चरे नगरपालिकाले आगामी फागुन १५ देखि हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान सुचारु गर्ने भएको छ ।

नगर प्रमुख दिलिपकुमार राईले सबै नगरवासीलाई औषधी खानका लागि आह्वान गरेका छन् । उनले नगरको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न अन्तरक्रियामा बोल्दै फागुन १५ गते प्रत्येक वडामा कार्यक्रमको उद्घाटन गरी घर–घरमा गएर स्वास्थ्यकर्मीले औषधी खुवाउने अभियान रहेको जानकारी गराए । उनले नगरका निजी अस्पतालसहितका सरोकारवाला निकायलाई औषधी खुवाउने अभियानमा लाग्न समेत आह्वान गरेका छन् ।

स्वास्थ्य संयोजक मुरारी आचार्यले नगरमा ५० जना स्वास्थ्यकर्मी परिचालन गरी १ साताको अवधिमा सबैलाई औषधी खुवाइसक्ने योजना बनाएको सुनाए ।