खोटाङः विश्वमा छरिएर रहेका किरात राई तथा अन्य समुदायको गन्तव्यस्थलको रूपमा स्थापित गर्न खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ रिब्दुङ महेश्वरीमा किरात सङ्ग्रहालय निर्माण शुरु गरिएको छ ।
राई जातिको अध्ययन केन्द्रको रूपमा स्थापित गर्ने र जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने उद्देश्यले किरात सङ्ग्रहालय निर्माण शुरु गरिएको बताइएको छ ।
सङ्ग्रहालयको लागि देशविदेशमा रहेका किरात संस्कृतिप्रेमी तथा सामाजिक सङ्घसंस्थाहरू सहयोगमा जुटेका छन् । ३ वर्षमा निर्माण सम्पन्न गर्ने गरी गत वर्षदेखि सङ्ग्रहालय निर्माण अभियान शुरु गरिएको हो ।
सङ्ग्रहालय निर्माणका लागि २ करोड रुपैयाँबराबरको वृहत योजना बनाइएकोमा यो वर्ष ५५ लाख लागतमा एक तला निर्माण सम्पन्न गरिने निर्माण उपभोक्ता समितिका संयोजक खुक्सङ खम्बूले बताए । सङ्ग्रहालय भवन निर्माणका लागि वडाबाट ५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सङ्ग्रहालय निर्माण कार्यलाई महाअभियानको रूपमा लिनुपर्ने भन्दै दाताहरूले स्वतस्फूर्त रूपमा सहयोगको प्रतिबद्धता गरिरहेको निर्माण उपभोक्ता समितिले जनाएको छ । अभियानका क्रममा हालसम्म १७ लाख बढी रकम सङ्कलन भइसकेको समितिको भनाइ छ ।
‘दश किरात, दश चुल्हो, एक भान्सा’ भन्ने किराती कथन अनुरूप किरातीहरूको मौलिक इतिहास, संस्कार, चालचलनलाई केन्द्रित गर्दै निर्माण गरिने सङ्ग्रहालयको लागि सबै प्रकारको सहयोग सबै पक्षबाट आवश्यक रहेको संयोजक खम्बूले बताए ।
दश किरातको प्रतीकस्वरुप दश भुजा र दश कोणमा डेकागन आकारमा किरात राई सङ्ग्रहालय निर्माण गरिने योजना बनाइएको छ । ३ तले गोलाकार भवनको धुरीमा धातुबाट निर्मित चिण्डोको बर्निङ गजुर राखिने तथा किराती वास्तुकलाले सजाइने जनाइएको छ ।
दयाहाङ राई सद्भावना दूत
सङ्ग्रहालय निर्माणका लागि चर्चित अभिनेता दयाहाङ राईलाई सद्भावना दूत बनाइएको छ । अभिनेता राईलाई सङ्ग्रहालयको काम सम्पन्न गर्न आवश्यक सहयोग रकम जुटाउन सद्भावना दूत बनाइएको बताइएको छ ।
सद्भावना दूत दयाहाङले राई जातिको ऐतिहासिक सङ्ग्रहालय निर्माण सम्पन्न गराउन तन–मन दिएर लागिपर्ने प्रतिबद्धता गरेका छन् ।

















