इलामः इलाम बजारबाट तराई जोड्ने द्रुतमार्ग खुलेको छ । जसका कारण मेची राजमार्ग हुँदै तराई पुग्ने दूरी ३९ किलोमिटर छोटिएको छ ।
इलामबाट मेची राजमार्ग हुँदै झापाको बिर्तामोडको दूरी ८६ किलोमिटर रहेकामा नयाँ सडक खुलेपछि ४७ किलोमिटरमै बिर्तामोड पुग्न सकिन्छ । इलाम नगरपालिका–९ को गोलाखर्क भञ्ज्याङ, भाङटार, राकसे हुँदै बेलासे पुग्ने १० किलोमिटर नयाँ मार्ग खुलेसँगै इलाम बजारबाट झापा पुग्न सर्वसाधारणलाई सहज भएको हो ।
गतवर्ष निर्वाचन पूर्वाधार विकास कार्यक्रममार्फत्को १४ लाख ५५ हजार र जिल्ला समन्वय समितिको २ लाख ५० हजारको लागतमा सडक निर्माण गरिएको हो ।
चालु आर्थिक वर्ष २०७५÷७६ मा इलाम नगरपालिकाको १५ लाख र प्रदेश नं १ को ५ लाख गरी २० लाखको लागतमा मार्ग खुलेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष तारादेवी कटुवालले बताइन् । इलामको गोलाखर्क भञ्ज्याङबाट नयाँ ट्र्याक खुलेपछि राकसे हुँदै माई नगरपालिका, दानाबारी र झापाको खुदुनाबारी सडक पुरानो सडकमा यातायात सञ्चालन भएमा भाडादर कम लाग्ने स्थानीय बासिन्दाको भनाइ छ ।
उक्त सडकका लागि हाल रणनीतिक सडक योजनाअन्तर्गत १ करोड बजेट विनियोजन गरेकाले सडक डिभिजनले थप काम अगाडि बढाउने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । मेची राजमार्गबाट झापा जोड्न करीब तीन घण्टाको सडकयात्रा तय गर्नुपर्ने बाध्यता रहेकामा अब गोलाखर्क भञ्ज्याङबाट बेलासे दानाबारी सडक स्तरोन्नति भएमा एक घण्टामै झापासम्म पुग्न सकिने छ ।