खोटाङः देशविदेशमा छरिएर रहेका चाम्लिङ राई (राखमीहँछा) को वंशावली सार्वजनिक भएको छ ।
लामो समयदेखि वंशावली खोज तथा निर्माण कार्यमा जुटेको किरात राई चाम्लिङ (राखमीहँछा) वंशावली प्रकाशन समितिले खोटाङको नुनथलामा आफ्नो वंशावली लोकार्पण गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित खाम्लालाई ऐतिहासिक तथा उद्गम थलो मान्ने राखमीहँछा पाछाका चाम्लिङ राईले २०४० सालदेखि लिखित दस्तावेज सङ्कलन गर्दै २०६९ साल भदौ ८ देखि औपचारिक रूपमा वंशावली खोज तथा निर्माण शुरु गरेको जनाएको छ । लामो समयको मिहिनेतपछि निर्माण तथा प्रकाशन गरेको वंशावलीलाई नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख वीणादेवी राईलगायतले लोकार्पण गरेका हुन् ।
कार्यक्रममा हङकङ, बेलायत, भारत तथा देशका विभिन्न जिल्लामा रहेका राखमीहँछा पाछा सामेल भएको गीतकार तथा साहित्यकार टीका चाम्लिङले बताए । कार्यक्रममा भारतको नक्सलबारी, दाराबु, सिक्किम तथा नेपालका कैलाली, मोरङ, सुनसरी, सङ्खुवासभा, झापा, उदयपुर लगायतबाट राखमीहँछा पाछाका चाम्लिङ राई सहभागी थिए ।
प्रकाशित राखमीहँछा पाछाको वंशावलीमा ५ सय वर्षको इतिहास भेटिएको बताइएको छ । वंशावली खोज तथा प्रकाशनले करिब साढे ४ सय वर्षअघि छुटेका वंशको पुनर्मिलन भएको रुपाकोट मझुवागढीका वडाध्यक्ष भीम राईले बताए ।