उदयपुरः सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–३ हडैयामा निर्माणाधीन पक्की पुल भत्कन थालेको छ ।
हडैया खोलामा निर्माण भइरहेको करीब ६० मिटर लामो उक्त पुलका दुई स्ल्याबमध्ये एउटा भत्कन थालेको स्थानीय बुद्धिमान कार्कीले बताए । चार स्ल्याबमा निर्माण हुनुपर्ने उक्त पुल ढिलो गरी निर्माण भइरहे पनि केही भागसमेत भत्कन थालेको छ । सडक डिभिजन कार्यालय सिरहा, लहानका इञ्जिनियर वचन भण्डारीले पुल भत्केको विषयमा अध्ययन भइरहेको बताए ।
स्थानीयवासीले पुलमा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेका कारण भत्कन थालेको बताए । विसं २०७३ देखि राजेन्द्र जगदम्बा गल्या जेभी प्रालि निर्माण कम्पनीले निर्माण शुरु गरेको उक्त पुल २०७५ सालभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ । अहिलेसम्म ५० प्र्रतिशत कार्यसमेत सम्पन्न नभएको स्थानीय बताउँछन् । सडक विभागको ८ करोड ७९ लाख २८ हजारको लागतमा उक्त पुल निर्माण भइरहेको बताइएको छ ।