धरानः धरान उपमहानगरपालिकाले सेउती किनारका ढुङ्गा, गिटी, मिक्स गिटी, बालुवा उत्खनन गर्न टेन्डर आह्वान गरेपछि स्थानीय आक्रोशित भएका छन् ।

यही फागुन १ गते नगरपालिकाले टेन्डर आह्वान गरेको थाहा पाएका स्थानीयहरूले प्रतिकार समिति नै बनाएका छन् । वडा नम्बर १५ र ५ का सारेकारवालाहरूको आज भेला गरेर स्थानीयहरूले २९ सदस्यीय प्रतिकार समिति बनाएका छन् ।

चुनावमा जाली लगाइदिने, रिङरोड बनाइदिने भनेर भोट मागेको तर अहिले बस्तीको संरचनामै असर हुनेगरी डोजर लाउन थालिएको आरोप लाउँदै स्थानीयले स्थानीय सरकारको विरोध गरेका छन् ।

प्रतिकार समितिका संयोजक नेकपाका नेता तथा पछिल्लो स्थानीय निकायका मेयरका उम्मेद्वार अइन्द्रविक्रम बेघाले बस्तीमा डोजर चल्न नदिने बताए ।

‘सेउतीका दुवै किनारमा डोजर प्रयोग गरी ढुङ्गा र मिसगिटी झिक्ने निर्णय नगरपालिकाले गरेको जानकारी हुन आएको छ’, नेता बेघाले सेउती किनारवासीलाई सम्बोधन गर्दै भने ‘ सेउती किनारमा बस्ने धरान १५ र ५ का सरोकारवालाहरूले व्यापक छलफल गरी निष्कर्षमा पुग्दा स्थानीय सरकारलाई आग्रह गरी निर्णय पुनर्विचार गर्ने निर्णय भयो । यसका बाबजुद खोलामा डोजर प्रयोग भए सशक्त प्रतिकार गर्ने भनी सर्वसम्मत निर्णय गरियो ।’

नेता बेघाले नगर सरकार हो भने बस्तीलाई प्रभाव पार्ने निर्णय नगर्न र डोजर चलाउँदा भएको प्रतिकारमा केही भयो भने डोजर चलाउन लगाउने निकाय नै जिम्मेवार हुने बताए । ‘बस्तीको लागी हामी ज्यान दिन पनि तयार छौँ’, नेता बेघाले भने, ‘सिटी फुक्नेबित्तिकै हामी सबै खोलामा हुन्छौँ ।’