इटहरीः नेपालका नामी भनिएका एजुकेसन कन्सल्टेन्सीहरू नै बदनामी देखिएका छन् । खासगरि एक्सपर्ट, मर्सि एजुकेसन, अल्फाबिटा, कंगारु एजुकेसन र डल्फिन जस्ता विभिन्न कन्सलन्टेन्सीहरुले नेपाली नर्सिङ विद्यार्थीहरूलाई अस्ट्रेलियामा अलपत्र पारेका छन् । दर्ता नै नभएको छोटकरीमा एआइबिटी भनिने अस्टे«लियन इन्स्टिच्यूट अफ बिजनेस एन्ड टेक्नोलोजीमा हजार बढी विद्यार्थी भर्ना यिनै कन्सल्टेन्सीहरूले गरेका थिए ।
कलेजको दर्ता प्रक्रिया खारेज भएको भनेर अस्ट्रेलिया सरकारको नियामक निकाय अस्ट्रेलियन स्किल्स क्वालिटि अथोरिटी (एएसक्युए)ले यही फेब्रुअरी १९ मा सूचना जारी गर्याे । पूर्वाधार, जनशक्ति देखी धेरै कुरामा मापदण्ड नपुगेको भन्दै एआइबिटीको डिप्लोमा नर्सिङ कार्यक्रम मार्च २६ भित्रै खारेज गर्न एएसक्युएले निर्णय गरेको छ ।
दर्ता प्रक्रियामा रहेको कलेजलाई नर्सिङ सङ्काय पढाउन बन्देज गरिएसँगै हजार बढी नेपाली विद्यार्थीहरू सिड्नी सहरमा अलपत्र परेका छन् । एक देखी डेढ वर्ष पढेका उनीहरूको पढाइ बर्बाद भएको छ । अस्टे«लियाको हप्ता दिन देखी एक बर्से भिजाको अवधि उनीहरूको दिनहुँ घट्दो क्रममा छ । जनही २० लाख तिरेर अस्ट्रेलिया पुगेका १ हजार विद्यार्थीको २ अर्ब रकम त जोखिममा पर्याे पर्याे । उनीहरूको मानसिक तनाव बढेको छ । शैक्षिक भविष्यमा समेत समस्या भएको छ ।
खारेज भएको कलेजले रिलिज लेटर नदिएको र नयाँ कलेजमा पुनः पढ्दा दोहोरो खर्च हुने विद्यार्थीहरूको दुःखेसो छ । यत्ति मात्रै हैन कन्सल्टेन्सीहरूले विद्यार्थी अस्टे«लिया पठाए बापत केही लाख कमिसन आउने नाममा विद्यार्थीहरूलाई झुटा सूचना दिएको पाइएको छ । दुई वर्षमै कोर्स पुरा हुने , एक वर्षको क्रेडिट पाउने देखी विश्वस्तरिय पूर्वाधार र जनशक्ति भएको कलेज भन्दै कन्सल्टेन्सीकै कुरा सुनेर विद्यार्थीहरू एआइबिटी पुगेका थिए । तर, विद्यार्थीले आश्वासन भएका सुविधाहरू पाउनु त परैको कुरा एआइबिटी समेत अवैधानिक भएको पाइएको छ ।
कलेज भनिएर लगिएको एआइबिटी कुनै कलेज नभएर छोटा अवधिा कोर्स पठाउने इन्स्टिच्यूट भएको पाइएको छ । कन्सल्टेन्सीको बदमासी यत्ति मात्रै छैन । एआइबिटीको दर्ता प्रक्रिया खारेज भएर डिप्लोमा नर्सिङ बन्द भएको सूचना मिडियालाई दिने एक विद्यार्थीलाई ज्यान मार्ने धम्की समेत आएको छ । धम्की आएसँगै विद्यार्थी अस्ट्रेलियाको नेपाली दूतावासमा सुरक्षा माग्दै पुगेकी छिन ।
राज्यलाई कर तिरेको बहानामा सोझा नेपाली विद्यार्थीबाट कमिसन खाँदै दर्तै नभएको कलेजमा भर्ना गर्ने कन्सल्टेन्सीहरूलाई कारबाही गर्नुपर्छ । पीडित विद्यार्थीको आर्थिक क्षतिपूर्ति सँगै दर्ता खारेजी सम्मका कठोर कदम राज्यले चाल्नुपर्छ । साथै, अभिभावकले पनि कुनै कन्सल्टेन्सीको विगत नहेरी उनीहरूले गरेका गुलिया कुरालाई अन्तिम सत्य मानेर दुःखले कमाएको पैसामा अस्ट्रेलिया छोराछोरीलाई पठाउनु हुँदैन ।