इटहरी/ नमुना कलेज इटहरीले सम्बन्धन नलिई नै विभिन्न विषय पढाइ हुने भनी विज्ञापन गर्ने गरेको खुल्न आएको छ । 

कलेजले आफ्नो फेसबुक पेज तथा विभिन्न सञ्चारमाध्यममा दिएका विज्ञापनमा सम्बन्धन नै नलिएको विषय पढाइ हुने गरेको भनी विज्ञापन छापेको भन्ने समाचार पूर्वी बजारमा प्रकाशित भएको थियो । त्यस्तै, कलेजले विभिन्न विषयलाई सङ्कायकै रूप दिई विज्ञापन गरेको पनि पाइएको भनी समाचार प्रकाशन भएको थियो ।

सो कलेजले बिएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) पढाइ हुने भनी विज्ञापन गरिरहेको छ । तर सो विषय पढाउनका लागि कलेजले सम्बन्धन नै लिएको छैन । सम्बन्धन नै नलिएको विषयमा पढाइ हुने भनी भ्रम छरिरहेको यसबाट पनि पुष्टि हुन्छ । कलेजको झुटो विज्ञापनका कारण विज्ञान र व्यवस्थापन विषयमा प्लस टु पढ्ने विद्यार्थी मारमा पर्ने गरेका छन् ।

कलेज सञ्चालन समितिका अध्यक्ष केशव खड्का आगामी शैक्षिक सत्र अर्थात् नोभेम्बरदेखि सो विषयको पढाइ हुन सक्ने बताउँछन् । ‘हामीले सम्बन्धनको लागि निवेदन दिएको ४ वर्ष भइसक्यो’, फोन सम्पर्कमा खड्काले भने, ‘यस पटक चाहिँ यो विषयले सम्बन्धन पाउँछ भन्ने हाम्रो विश्वास छ ।’ त्रिभुवन विश्वविद्यालयले सम्बन्धन नदिएमा लिङ्कन युनिभर्सिटीबाट सम्बन्धन लिइने उनले बताए ।

कारवाही हुन्छ : मेयर
इटहरी नगरपालिकाका मेयर तथा शिक्षा समिति संयोजक द्वारिकलाल चौधरी गैरकानुनी काम गर्ने जोसुकैलाई पनि नछोडिने बताउँछन् । उनले भने, ‘सम्बन्धन नै नपाएको विषयमा विज्ञापन गर्नु गलत हो । त्यस्तो भएको रहेछ भने कारवाही गर्छु ।’