विराटनगरः व्यावसायिक रूपमा बाख्रा पाल्न शुरु गरेको एक वर्ष नबित्दै १६ बाख्रा मरेपछि मोरङका किसान कुमार सिंह कार्की चिन्तित बनेका छन् । बुढीगंगा गाउँपालिका–७ का कार्कीले पालेका ७२ बाख्रामा रोगको संक्रमण शुरु भएको छ । झण्डै आधा करोड खर्च गरेर व्यावसायिक ढङ्गले बाख्रा पालेका उनी आर्थिक क्षतिले निराश छन् ।
गोठका बाख्रा धमाधम मर्न थालेपछि उनले विशेषज्ञ गुहारेका थिए । विशेषज्ञले पिपिआर नामको रोगको सङ्क्रमण भएको भन्दै एक बाख्राबाट अरुमा सर्ने सरुवा प्रकृतिको रोग रहेको बताएका छन् ।
थप बाख्रामा सङ्क्रमण नहोस् भन्नका लागि अहिले इन्जेक्सन दिइएको छ । तर पनि बाँकी बाख्रामध्ये १० वटा बच्न सक्ने अवस्थामा भने छैनन् ।
शुरुका दिनमा मानिसलाई जस्तै बाख्रालाई पनि रुघाखोकी र ज्वरोको लक्षण देखिएको थियो । दानापानी नै खान छाडेपछि एकै थलोमा १६ बाख्रा मरेका हुन् ।
‘केही हुन्छ भन्ने हौसलाका साथ कृषि पेशामा हात हालेको थिएँ,’ कार्कीले भने, ‘पहिलो लगानी नै डुब्न लाग्या छ । बाख्रा मरेपछि सरकारी पक्षले राहत दिन्छ कि भन्ने झिनो आशा लिएको छु ।’
२०७३ सालमा तनहुँको बन्दीपुरको नार्कमा झण्डै एक महिना लगाएर लिएको बाख्रापालनको तालीमलाई व्यवहारमा उतार्न खोज्दै गर्दा ठूलो आर्थिक नोक्सानी भएको उनले बताए । करिब ५ लाख मूल्य बराबरको क्षति बेहोरिसकेको उनले बताए ।
उनले भारतलगायत तेस्रो देशबाट पनि बाख्रा ल्याएका थिए । बढी मूल्य पर्ने उन्नत जातका बाख्रामा बोयर, जमुनापारी र सिनाललगायत रहेको उनले बताए ।