बेलबारीः बेलबारी–१० स्थित सृजना सामुदायिक बनले बन क्षेत्रभित्र पर्यटकीय केन्द्रको विकास गर्न लागेको छ । करिब २२ हेक्टर बन क्षेत्रमा समितिले ढुङ्गाका आकर्षक मूर्ति बनाउने काम शुरु गरेको छ ।

समितिले उत्तरी मोरङ क्षेत्रको मुख्य राजमार्ग नजिक पर्यटकीय केन्द्र निर्माणको थालनी गरेको छ । उक्त कार्यले यस क्षेत्रका बासिन्दाको आर्थिक जीवन उक्सिनेदेखि थप पर्यटकीय केन्द्र स्थापना हुने विश्वास लिएको छ ।

स्थानीय सरकारसहित विभिन्न दातृ संस्थाको सहयोगमा मूर्ति कार्यशाला शुरु भएको हो । नेपालसहित ६ देशका ३० मूर्तिकारको १८ दिनको मिहिनेतपछि यस क्षेत्रको मुहार परिवर्तन हुनेछ ।

बनले करिब १ करोड ८४ लाखको बजेटमा उक्त काम गर्न लागेको हो । झण्डै ५० मूर्ति तयार गरी सुन्दर बगैंचा निर्माण गर्ने योजना रहेको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद सदस्य तथा मूर्ति विभागका प्रम्ुख लालकाजी लामाले ढुङ्गामा सुन्दर कला भरेर आकर्षक स्थान बनाउन कलाकार लागि परेको बताए । उनले एक कलाकारले २ वटासम्म मूर्ति बनाउने जानकारी दिए ।

पूर्व प्राज्ञ तथा स्थानीय धनबहादुर याख्खाको अवधारणामा तयार भएको योजनालाई थप विस्तार गर्न काठ र बाँसका जराका कलात्मक मूर्ति समेत बनाउने तयारी गरिएको छ । ढुङ्गाको मूर्ति बनाउने काम सम्पन्न भएपछि बाँस र काठको मूर्ति कार्यालयमा समेत बनाउने तयारी भएको बेलबारी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गंगा याख्खाले बताए ।

२ वर्ष पहिले इटहरी उपमहानगरपालिकाको प्रमुख पर्यटकीय स्थल तालतलैयामा मूर्ति कार्यशाला भएको थियो । सो कार्यशालामा देश तथा विदेशका कलाकारले तयार पारेका मूर्ति हेर्न अहिले पर्यटकको घुँइचो लाग्ने गरेको छ । मूर्ति बनाउन, भारत, जापान, बंगलादेश, इटली र जर्मनबाट मूर्तिकार आएको बताइएको छ ।