धरानः मन्त्र ब्याण्ड स्थापना भएको २० वर्ष पुगेको अवसरमा एनजी इभेन्ट म्यानेजमेन्ट प्रालिले ‘ट्वान्टी इयर्स अफ ग्लोरियस एनिभर्सरी च्यारिटी नाइट’को आयोजना गर्ने भएको छ ।

मन्त्र ब्याण्डले साङ्गीतिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै सम्मानस्वरूप फागुन १२ गते च्यारिटी नाइटको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

धरान–९ स्थित बज पब एण्ड रेष्ट्रोमा आयोजना हुने च्यारिटी नाइटमा मन्त्र ब्याण्डको लाइभ प्रस्तुतिसँगै नेपाल आइडल सिजन टुका बेस्ट पर्फमेन्स उपाधि विजेता सन्देश लामाको पनि प्रस्तुति रहने बताइएको छ । सो कार्यक्रममा सङ्कलित रकमबाट न्यूनतम १० हजार रुपैयाँ कुनै सामाजिक संस्थालाई सहयोग गर्ने एनजी इभेन्टका निर्देशक पे्रम क्षत्रीले जनाए । कार्यक्रम घाटामा नै गए पनि न्यूनतम १० हजार रुपैयाँ च्यारिटी गर्ने एनिजी प्रालिको योजना रहेको आयोजकले जनाएको छ ।

२०६३ सालमा स्थापना भएको एनजी इभेन्ट म्यानेजमेन्ट प्रालिले सामाजिक कार्यसँगै विभिन्न कार्यक्रमको आयोजना गर्ने तथा व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको प्रालिका अध्यक्ष सन्देश लामाले जनाए । कार्यक्रम साँझ ५ बजेदेखि साढे १० बजेसम्म चल्ने इभेन्ट संयोजक निश्चल पलिखेले जनाए ।