पाँचथरः पाँचथरको फिदिमका दीननाथ घिमिरे पेशाले राजनीतिकर्मी हुन् । उनले करिब ५० वर्षको उमेरमा ८७ पटक रक्तदान गरिसकेका छन् । एउटै व्यक्तिले यत्रो धेरै पटक गरिएको रक्तदानलाई धेरैले सेवाभावका रूपमा लिएका छन् ।

फिदिममै रहेर पत्रकारिता गरिरहेका गणेश साम्पाङ पनि पाँचथर जिल्लामा धेरै रक्तदान गर्नेमध्ये पर्छन् । पछिल्लो पटक उनले गरेको रक्तदान ३७ औँ पटकको थियो । उनले आवश्यक परेका बेला दिन मिल्ने अवस्थासम्म कहिल्यै पनि नाइँ नभनेको रगत सङ्कलन कार्यमा संलग्न प्राविधिक हरिमाया तुम्बापोले बताइन् ।

लगातार रक्तदान गर्नेमा साहित्यकार सगुन सुसारा पनि पर्छन् । उनले पछिल्लो पटक गरेको रक्तदान १७ औँ पटकको थियो । फिदिमका राजेन्द्र अधिकारीसहित लगभग ३५ जना स्थानीयले जिल्लाका सबै रक्तदाताको कार्यभार थेगेका छन् । नेपाल रेडक्रस सोसाइटीको शाखा फिदिमले सञ्चालन गरेको ब्लड बैंकले बिरामीलाई आवश्यक हुनेबित्तिकै खबर गरेर रक्तदाता मगाइदिने काम गर्छ ।

जिल्ला अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि आवश्यक रगत तय भएपछि रेडक्रसले सञ्चालन गरेको सङ्कलन केन्द्रलाई खबर हुने गरेको छ । त्यसपछि सम्भव भएअनुसारका दातालाई खबर गर्ने गरेको तुम्बापोले बताइन् । उनका अनुसार २०६१ पछि लगातार यो काम भइराखेको छ ।

अस्पतालमा आएका बिरामीलाई रगत आवश्यक भए तुम्बापोलाई नै सम्पर्क गर्ने चलन छ । जिल्लामा अहिले मासिक १२ देखि १५ पाउण्ड रगत आवश्यक पर्छ । पाँचथरमा सङ्कलन गरिएको रगत २० देखि २२ दिन सम्म मात्रै राख्न सकिने अवस्था छ । सुविभासम्पन्न भण्डारणकक्ष छैन । लामो समयसम्म रगत राख्नुप¥यो भने झापाको चारपाने वा मोरङको विराटनगर पठाउनुपर्छ । नपठाउँदा त्यो खेर जाने हुन्छ ।

अघिल्लो आर्थिक वर्षसम्म रगतको आवश्यकता परेकाले प्रतिपाउण्ड ८ सय रुपैँया तिर्दै आएका थिए । गत साउनदेखि त्यो क्रम हटेको छ । गत साउनदेखि जिल्लाका स्थानीय तहसँग मिलेर रेडक्रसले रगत निःशुल्क प्रदान गर्न थालेको छ । स्थानीय तहले गरेको सहयोगका कारण बिरामीलाई निःशुल्क रगत पु¥याउन सम्भव भएको हो ।

रगत सङ्कलन केन्द्रबाट जिल्लाबाहिरका बिरामीलाई पनि सोही प्रकारको सेवाप्रदान हुँदै आएको छ । जिल्ला अस्पतालमा आउने ताप्लेजुङ र तेह्रथुमका बिरामीका लागि पनि सेवा प्रभावकारी हुँदै आएको छ । शुल्क तिरेर समेत समयमा पाउन नसकिने सेवालाई रेडक्रसको सहयोगमा निःशुल्क गरिएको हो ।

जिल्ला अस्पतालसहितका सरकारी निकायसँग रगत सङ्कलनकार्य थप प्रभावकारी बनाउने विषयमा कुनै कार्ययोजना नै छैन । जतिबेला सम्म रेडक्रसले सहयोग गर्छ त्यतिबेलासम्म चल्छ भन्ने शैलीमा काम भइराखेको छ । एक जनामात्रै कर्मचारीले दिनरात काम गर्नुपर्दा बेलाबेलामा समस्या समेत हुने गरेको छ ।

जिल्ला अस्पतालले बिरामीका लागि रगत आवश्यक छ भन्नेबाहेक अरु केही गर्दैन । दाता खोजिदिनेदेखि रगत सङ्कलन गर्नेसम्मको सबै काम एक्लै गर्दै आएको अनुभव तुम्बापोको छ । जिल्लामा ताप्लेजुङ र तेह्रथुमको पूर्वी क्षेत्र लगायतलाई केन्द्र पर्ने गरी फिदिममा गुणस्तरीय सेवासहितको ब्लड बैंक सञ्चालन गर्न सके सबैलाई सहज हुने पाँचथर जिल्ला अस्पताल व्यवस्थापन समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटाले बताए ।

‘रेडक्रसले जे गरिरहेको छ त्यसैलाई सोही ढाँचामा थप प्रभावकारी बनाउनेतर्फ सोच्ने बेलाआएको छ’, उनले भने, ‘सबै क्षेत्रबाट पहल हुन जरुरी छ ।’